‘गाडीमा ब्यानर र साथमा परिचय पत्र राख्नुहोस्, रोकतोक हुँदैन’

 बैशाख १७, २०७८ शुक्रबार ९:४२:४२ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - चितवनको खैरहनी नगरपालिका-१० का सीताराम अर्याल व्यावसायिक तरकारी खेती गर्नुहुन्छ । अहिले टमाटर टिप्न र बजार पठाउन थालिएको छ । अघिल्लो हप्तादेखि खरबुजा पनि बेच्न सुरु भइसक्यो।

दैनिक ५/६ गाडी तरकारी, फलफूल ढुवानी हुँदै आएको अर्याल बताउनुहुन्छ । अर्यालले उत्पादन गर्ने तरकारी तथा फलफूलको मुख्य बजार पोखरा र काठमाण्डौ हो । तर काठमाण्डौमा निषेधाज्ञा सुरु भएपछि उत्पादन भएका तरकारी बजारसम्म पुर्याउन र भाउ पर्नेगरी खपत गर्न नसकिएला कि भन्ने चिन्ता सुरु भएको छ ।

अहिले बजार पठाउन नसके टमाटर तथा खरबुजामा गरेको लगानी र मेहनत खेर जान्छ । पछि बेचाैँला भनेर भण्डारण गरेर राख्न सक्ने पनि अवस्था छैन । उहाँ भन्नुहुन्छ, ‘हामीले उत्पादन गरेका वस्तु जसरी पनि बजारमा पुग्नुपर्छ, सरकारले तरकारी फलफूलजन्य गाडी नरोके उत्पादन बजार पठाउन सहज हुन्थ्यो ।’

तरकारी र फलफूलसँगै दूध उत्पादन गर्ने किसानको पनि उस्तै चिन्ता छ । खैरहनी नगरपालिका १२ का कृष्ण भण्डारीको डेरी उद्योग छ । उहाँले झण्डै चार सय गाई पाल्नुभएको छ । दैनिक झण्डै १५ सय लिटर दूध उत्पादन हुन्छ । ‘गएकाे वर्ष हामीलाई निक्कै गाह्रो भयो’ लकडाउनमा भोग्नुपरेका समस्या सम्झँदै भण्डारी भन्नुहुन्छ,‘ अघिल्लो वर्ष जस्तो नोक्सानी त नहोला तर केही न केही समस्या पर्न सक्छ ।’

उहाँका अनुसार मुख्य बजार काठमाण्डौमा निषेधाज्ञा गर्ने निर्णय भएपछि कतिपय उपभोक्ता गाउँ गएका कारण खपत कम हुने अनुमान छ । पोहोर आफ्नै साधन नहुँदा दूध पठाउन नसकेको तर यसपालि ढुवानी गर्न गाडी बन्दोबस्त भएकाले सरकारले ढुवानी नरोके सहजै बजार या उद्योगमा पठाउन सक्ने उहाँ बताउनुहुन्छ ।

बिहीवार काठमाण्डौमा ५० प्रतिशत दूध खपत

अघिल्लो वर्ष यो बेला भोग्नुपरेको लकडाउनकै झल्को दिनेगरी काठमाण्डौ उपत्यकासहित कोरोना सङ्क्रमित धेरै भएका जिल्लामा निषेधाज्ञा लगाइएको छ । निजी तथा सार्वजनिक गाडी चलेका छैनन् । कोरोना महामारी नियन्त्रण गर्न गरिएको निषेधाज्ञा पालना गरी नागरिक घरभित्रै बसेका छन् ।

निषेधाज्ञाको पहिलो दिन बिहीवार काठमाण्डौमा ५० प्रतिशत मात्रै दूध खपत भएको नेपाल डेरी एशाेसिएसनको तथ्याङ्क छ । कतिपय उपत्यका छोडेर गाउँ गएको, स्कुल/कलेज, होटल लगायतका क्षेत्र बन्द भएको तथा उपभोक्ताले खर्चमा मितव्ययिता अपनाउँदा माग घटेको तर आपूर्ति व्यवस्थापनमा समस्या नरहेको एशोसिएसनका महासचिव प्रह्लाद दाहाल बताउनुहुन्छ । 

अघिल्लो वर्ष अवस्था केही फरक थियो । कोरोना भाइरस सर्ने पो हो कि भनेर कतिपय उपभोक्ताले तरकारी, फलफूल तथा दूग्धजन्य पदार्थ किनेर खान समेत डराए । लकडाउनका सुरुवाती दिनमा दूध खपत हुन नसकेर फाल्नु पर्नेसम्मको अवस्था आयो । त्यसैगरी तरकारी तथा फलफूल पनि खेर गयो।

कोरोना सङक्रमण सुरु भएपछि स्वास्थ्य, शिक्षा, पर्यटन, व्यापार व्यवसायमा ठूलै असर परे पनि कृषि उत्पादनको क्षेत्रमा सकारात्मक प्रभाव परेको सरकारको भनाइ छ । विदेशबाट फर्किएका र सहरबाट गाउँघर पुगेका कतिपयले कृषि क्षेत्रमा लगानी गरेका छन् ।

भर्खर लगानी गरी उत्पादन थालेका, निरन्तर खेती किसानी गर्दै आएका तथा व्यावसायिक कृषिमा लागेका किसानले आफ्नो उत्पादन खेर जान नदिन र आयआर्जन गर्न उत्पादित वस्तु बजारमा लैजानुको विकल्प छैन । 

गाडीमा ब्यानर र परिचय पत्र अनिवार्य

सरकारले स्वास्थ्यका मापदण्डलाई पालना गरी परिचय पत्रसहित निषेधाज्ञा लागू भएका जिल्लामा पनि कृषि उपज सहजै लैजानसक्ने गरी व्यवस्थापन मिलाएको छ । अत्यावश्यक वस्तु तथा सेवालाई निर्बाध ढुवानी गर्न केन्द्र तहमा सम्बन्धित मन्त्रालयको समन्वय र सहकार्यमा काम भइरहेको कृषि मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरे बताउनुहुन्छ ।

गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालयका पदाधिकारीसहितको टोलीले अत्यावश्यक वस्तु तथा सेवा नियमित गर्न समन्वय गरिरहेको उहाँको भनाइ छ । र्‍यापिड रेस्पोन्स टिमका सदस्य समेत रहेका घिमिरेका अनुसार स्वास्थ्य, खाद्य तथा दैनिक उपभोग्य वस्तु ढुवानी तथा आपूर्तिमा कहीँकतै समस्या छैन, समस्या भइहालेमा टिमले आवश्यक सहजीकरण गर्दै आएको छ । उहाँ भन्नुहुन्छ, ‘गाडीमा ब्यानर र साथमा परिचय पत्र राख्नुस् कतै रोकतोक हुँदैन ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सम्बन्धित उद्योगबाट जारी भएको परिचय पत्रका आधारमा आवतजावत गर्न र तरकारी, फलफूल तथा दुग्धजन्य वस्तु ढुवानी गर्ने गाडीमा परिचय र प्रयोजन खुल्ने ब्यानरका साथ ढुवानी गर्न पाइने व्यवस्था गरेको छ । कुन ठाउँबाट कहाँ लैजान खोजेको हो, के लैजान खोजेको हो त्यो खुलाएर ब्यानरमा लेखेर गाडीको अगाडि राखेर लैजान सक्ने कृषि मन्त्रालयका प्रवक्ता घिमिरेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया