घोराहीकाे पर्यटकीय गाउँ घोरदौरामा खानेपानीकाे हाहाकार

 बैशाख १७, २०७८ शुक्रबार १८:१०:४७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – गर्मीयाम सुरु भएसँगै दाङको सदरमुकाम घोराही उपमहानगरपालिकाको पर्यटकीय गाउँ घोरदौरामा खानेपानीकाे हाहाकार भएको छ । घोरदौराबासी गाउँदेखि धेरै टाढा पैदल हिँडेर पानी लिन जान्छन् । घण्टौँको बाँटो हिडेर पानी ल्याएर खानुपर्ने घोरदौराबासीको बाध्यता छ । उनीहरूले अहिले एक घण्टा पैदल हिँडेर धरमपानी र कमिरेबाट ल्याएकाे पानी खाइरहेका छन् ।

‘एकातिर कोरोना जोखिम छ, अर्को हामीलाई खानेपानीको निकै चिन्ता छ स्थानीयवासी दीपा महराले भन्नुभयो’, ‘एक घण्टा टाढाको बाटोबाट पानी बोक्नुपर्ने बाध्यता छ । घोरदौरामा पानीको कुनै स्थायी मूल छैन ।’

‘भूगोलका हिसाबले घोराही उपमहानगरपालिकाभित्र परे पनि उपमहानगरस्तरका कुनै पनि सेवा सुविधा हामीले प्रयोग गर्न पाएका छैनौँ । पानीले व्याकुल हुँदै घण्टौँको बाटो हिँडेर पानी ल्याएर पिउनुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ सरकार ? हामीलाई पानीको व्यवस्था गर्नतर्फ नगरको ध्यान किन पुग्दैन ?’, उहाँले प्रश्न गर्नुभयाे । 

अर्का स्थानीयवासी मीना पुनले घण्टौँ हिँडेर गाग्रीमा पानी बोक्दा निकै अप्ठ्यारो भएको गुनासो गर्नुभयो । त्यस्तै स्थानीयवासी दिलबहादुर घर्तीकाे गुनासाे छ, ‘कोरोनाको पनि धेरै डर छ । दाङमा पनि दैनिक मान्छे मरिरहेका छन् । बाँच्नका लागि खानै पर्‍याे, हामीलाई कोरोना भन्दा पनि खानेपानीको चिन्ता छ ।’ 

 खानेपानीको वैकल्पिक व्यवस्थापन गर्न भन्दै घोराही उपमहानगरपालिकाले अहिले घोराही बजारबाट  ट्याङ्करमा पानी पठाउने गरेको छ ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया