घोडेपानीको जङ्गलमा ढकमक्क लालीगुराँस (फोटो फिचर)

 बैशाख १८, २०७८ शनिबार १३:५७:५२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – वसन्त ऋतुको आगमनसँगै फुल्न थाल्छन् गुराँस । नवदुलहीको सिउँदो रंगिएझैँ राताम्य देखिन्छन् पहाडहरु । फूलहरुको रस चुस्दै अघाउँछन् माहुरी । लाग्छ, गुराँस फुलेपछि धर्ती पनि तृप्त हुन्छ । 

गुराँस हरियो र खस्रा पात हुने तथा राताे, गुलाफी, सेताे लगायत अनेक रङको थुङ्गा फूल फुल्ने वृक्ष हो । फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्छ । 

नेपालको राष्ट्रिय फूल गुराँस अहिले म्याग्दीका वनपाखामा ढकमक्क फुलिरहेको छ । हिमाली जिल्ला म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी तथा पुनहिल क्षेत्रको वन जङ्गलमा राष्ट्रिय फूल लालीगुराँस फुलेर रौनक छाएको छ । उत्तरी अन्नपूर्ण गाउँपालिका–६, घारमा पर्ने घोडेपानी क्षेत्र यतिबेला गुराँस फुलेर राताम्य भएकाे छ ।

समुन्द्री सतहदेखि २ हजार ८ सय ७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा ३ हजार २ सय १० मिटरमा रहेको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँसहरु फुलेका छन् । नेपालको वन जङ्गलमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोडेपानी क्षेत्रमा भने विभिन्न ८ प्रजातिका गुराँसहरु फुल्ने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

नेपालको राष्ट्रिय फूल लालीगुराँससहित म्याग्दीमा १० प्रकारका गुराँसहरु पाइने डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनाल बताउनुहुन्छ । उहाँका अनुसार म्याग्दीका वनमा रातो, सेतो र कलेजी रङका गुराँसहरु फुल्ने गरेका छन् । गण्डकी प्रदेशमा गुराँसको राजधानी भनेर घोडेपानी र पुनहिल क्षेत्रलाई चिनिन्छ । अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल र राम्चेमा गुराँसले ठूलो क्षेत्र ओगटेको छ । लालीगुराँस फूलेपछि ग्रामीण क्षेत्रको सौन्दर्य समेत बढेको छ ।

घोडेपानी र पुनहिल क्षेत्रमा फुलेको गुराँसको आकर्षणले पर्यटकहरु आकर्षित भएका छन् । काेराेनाकाे त्रासले शहरबाट गाउँ पसेकाहरु । लालिगुराँस फुलेकाे हेर्न डाँडाकाँडा चहार्न थालिसके । वसन्त ऋतुमा मनै लोभ्याउने गरी फुल्ने लालीगुराँससँगै फोटो र भिडियो खिच्न पर्यटक पुग्छन् । वनपाखामा फुलेको लालीगुराँसलाई पृष्ठभूमीमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन पाइने भएपछि पर्यटकहरुको आकर्षण बढेको जनाइएको छ ।

घोडेपानी र पुनहिल क्षेत्रको भ्रमणका साथै लालीगुरासँसित टाँसिएर फोटो खिच्न पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको ईलामबाट घोडेपानीको भ्रमणमा निस्किनुभएकी आन्तरिक पर्यटक टीका उप्रतीले अनुभव सुनाउनुभयो ।

'राउण्ड अन्नपूर्ण'अन्तर्गत पर्ने घोडेपानी र पुनहिल क्षेत्रको भ्रमणमा हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटकहरु कास्कीको नयाँपुल–घान्द्रुक, म्याग्दीको सदरमुकाम बेनी–पोखरेबगर तथा मुस्ताङबाट म्याग्दी निस्किएर भूरुङ–तातोपानी हुँदै पोखरेबगर–घार भएर जाने गर्दछन् । बेलुका घोडेपानी पुगेर बास बसेका पर्यटकहरु बिहान सबेरै उठेर पुनहिल जान्छन् ।

म्याग्दी भित्रिने पर्यटकहरु अधिकांश घोडेपानी र पुनहिलको भ्रमणमा जाने गरेको पाइन्छ । पुनहिलबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरी, मानपाथीलगायत १६ वटाभन्दा बढी हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

यसैबीच चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत अन्नपूर्ण–७, फूलबारीमा गुराँस पार्क निर्माणका लागि ११ लाख ६० हजार लागतमा काम भैरहेको वन कार्यालयका निमित्त प्रमुख खनालले बताउनुभयो ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया