सर्लाहीका अस्पतालमा काेराेनासँग मिल्दाेजुल्दाे लक्षण भएका बिरामीकाे चाप बढ्याे

 बैशाख २१, २०७८ मंगलबार २०:२६:५० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, जिउ  दुख्ने, टाउको दुख्ने र छाती दुख्ने लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पताल मलङ्गवाका डाक्टर श्रीप्रताप साहले जानकारी दिनुभयो। 

‘अहिले कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी दैनिक ६०/७० जना आउने गरेका छन्, उनीहरू सबैमा कोभिड भएको भने होइन, लक्षण चाहिँ मिल्दोजुल्दो छ, अस्पतालमा अहिलेसम्म गरिएको पीसीआर परीक्षणबाट १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ, एक सय २० जना बिरामीको पीसीआर रिपोर्ट आउँन बाँकी छ । अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएकाले जोखिम बढेको छ, सावधानी नभए थप खतरा बढ्छ’, डाक्टर साहले भन्नुभयाे ।

बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप निकै बढेको जनस्वास्थ्य अधिकृत सत्यनारायण यादवले बताउनुभयो । उहाँले भन्नुभयाे, ‘भाइरल ज्वरो, रुघाखोकीका बिरामी निकै बढेका छन्, हिजो सामान्य स्वास्थ्य परीक्षण गरिएको ३८ जना बिरामीमध्ये १६ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ, समुदायस्तरमा नै नयाँ कोरोनाको लहर फैलिएको अनुमान गर्न सकिन्छ, पीसीआर परीक्षण सहज नहुँदा नागरिकले धेरै समस्या खेप्नुपरेको छ, अब सबै पालिकाले पीसीआर परीक्षणको दर बढाउनुपर्छ, नत्र जिल्ला अस्पतालमा रहेको एउटा पीसीआरले सबैलाई धान्न सक्दैन ।’ 

बलरा नगरपालिका ३ मिर्जापुरकाे एकै गाउँका ७० जना भन्दा बढीमा उच्च ज्वरो आएको छ । सदरमुकाम मलङ्गवादेखि ४० किलोमिटर पश्चिम भारतसँग सीमा जोडिएको दुर्गम गाउँमा यसरी मानिस बिरामी पर्न थालेपछि त्यहाँका स्थानीयवासी थप त्रसित भएका छन् । एकै गाउँमा उच्च ज्वरोका बिरामी धेरै भएपछि उनीहरूले राम्रोसँग उपचार पाउन नसकेको बलरा नगरपालिका ३ का वडाध्यक्ष शशिकान्त मिश्रले जानकारी दिनुभयो । बिरामीहरूमा लगातार दुई हप्तासम्म उच्च ज्वरो र टाइफाइडको लक्षण जस्तो देखिएको र अधिकांश बिरामीले गाउँघरमा रहेका सामान्य स्वास्थ्यकर्मीसँग उपचार गराउने गरेको मिश्रले जानकारी दिनुभयो । 

ज्वरो आएका बिरामीले बाहिर गएर उपचार गराउँदा कोरोना भाइरस देखिने डरले पनि विना परीक्षण गाउँघरमा नै उपचार गर्ने गरेका छन् । उपचारका लागि बाहिर गएकाले समेत राम्रोसँग उपचार नपाएकाले घरमै बसेर उपचार गरेको बरहथवा नगरपालिका ९ का ३२ वर्षीय पुरुष बताउनुहुन्छ । सामान्य लक्षण देखिँदा गाउँघरमै उपचार गर्ने र अवस्था गम्भीर आएपछि मात्र अस्पताल जाने गर्दा कोभिडको जोखिम झनै बढ्ने जिल्ला अस्पताल मलङ्गवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जीव सिंहले बताउनुभयो ।

यसैबीच कोरोनाको जोखिम उच्च देखिएको भन्दै हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाले एक हप्ताका लागि बजार, कार्यालय बन्द गर्ने निर्णय गरेका छन् ।   

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया