स्मार्ट शौचालय बनाउने एरोसान संयुक्त राष्ट्रसङ्घ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट सम्मानित

 वैशाख २३, २०७८ बिहीबार १२:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्मार्ट शौचालय निर्माण तथा शौचालय आधुनिकीकरणको काम गर्दै आएको एरोसान संयुक्त राष्ट्रसङ्घ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट सम्मानित भएको छ ।

स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि संस्था पुरस्कृत भएको एरोसान सस्टेनेबल स्यानिटेसनका प्रमुख कार्यकारी  प्रकाश अमात्यले जानकारी दिनुभयो । संसारभरका १ हजार प्रतिस्पर्धीहरु मध्येबाट एरोसान हबलाई छनाेट गरिएको हो ।

एरोसानले संयुक्त राष्ट्रसङ्घले हिजो गरेको भर्चुअल सम्मेलनमा आफ्नो नमुना शौचालयको प्रस्तुति समेत दिएको छ । एरोसानले काठमाण्डौ महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय र भएका  पुराना सार्वजनिक शौचालयको पुनःनिर्माण गरी अत्याधुनिक शौचालयमा रुपान्तरण गरेर रत्नपार्क, नयाँ बानेश्वर, बुद्धपार्क र मंगलबजारमा गरेर चार वटा नमुना सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ । यस्तै त्रिपुरेश्वर र पाटन ढोकामा यही वर्षबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख कार्यकारी  प्रकाश अमात्यले जानकारी दिनुभयो ।

एरोसानहबद्वारा सञ्चालित सार्वजनिक शौचालय अत्याधुनिक, स्वच्छ, महिला मैत्री, अपाङ्ग मैत्री र समुदायमा आधारित छन् । शौचालयहरुमा महिलाहरुको लागि स्वचालित मेसिनबाट स्यानिटरी प्याड किन्ने व्यवस्था गरिनुका साथै प्रयोग भएको प्याडको व्यवस्थापनका लागि प्याड जलाउने मेसिन पनि जडान गरिएको छ ।

शौचालयहरुमा बालबालिकाहरुको डाइपर परिवर्तन गर्ने ठाउँ पनि उपलब्ध रहेको छ । शौचालयमा सरसफाइका लागि आकाशे पानी सङ्कलन गरेर प्रयोग गरिएको छ । शौचालयबाट निस्कने ठोस तथा तरल फोहोरलाई ढलमा नफाली उर्जाको रुपमा बायोग्यास निर्माण गरिएको छ भने फोहोर पानीलाई प्रशोधन गरेर पुनःप्रयोग गरिएको छ ।

एरोसानले काठमाण्डौ उपत्यका क्षेत्र भित्रका महानगरपालिका र नगरपालिकामा ५० वटा महिला मैत्री, अपाङ्ग मैत्री, पहुँचयुक्त सार्वजनिक शौचालयको निर्माण गर्ने उद्देश्य लिएको जनाएको छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया