राष्ट्रिय सभा सदस्य उपचुनावका लागि बादल, देवकोटा र तामाङको उम्मेदवारी

 बैशाख २४, २०७८ शुक्रबार १३:५१:४९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्य उपचुनावका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी परेको छ ।

थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनुभएको छ । उम्मेदवारीका लागि थापा हेलिकप्टरबाट प्रदेश राजधानी हेटौँडा पुग्नुभएको हो ।

त्यस्तै देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस प्रदेशका प्रमुख सचेतक राधा घले रहनुभएकाे छ । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ ।

राष्ट्रिय सभा सदस्य उपचुनावमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहनुभएको छ ।

एमाले प्रवेश गर्नुभएका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त छ । रिक्त पदमा निर्वाचन आयोगले जेठ ६ गते उपचुनाव गर्न लागेको हो । वाग्मतीमा हुने राष्ट्रिय सभा उपचुनावमा एक सय १० जना प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ जना गरी तीन सय ४८ मतदाता रहेका छन् । प्रदेश सभाका एक जना सदस्यको ४८ र पालिकाका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को भुटनदेवी मावि भवनमा दुई वटा मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ ।

एउटा पालिका र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया