कोरोनाले मातातीर्थ मेला स्थगित

 बैशाख २७, २०७८ सोमबार २०:३७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगमा रहेको चन्द्रागिरि नगरपालिका थानकोट नजिकैको मातातीर्थमा लाग्ने मेला स्थगित गरिएको छ । यस वर्ष वैशाख २८ गते मङ्गलवार आमाको मुख हेर्ने औँसी परेको छ ।

नयाँ भेरिएन्टसहितको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ । गएको वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन गरिएकाले मेला स्थगित गरिएको थियो । 

आमा नहुनेले औँसीका दिन बिहानै यस तीर्थमा गइ स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने नगरपालिकाले जनाएको छ । घर घरमै बसेर जीवित आमालाई खुसी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ ।

मातातीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’ को मूर्ति पनि स्थापना गरिएको छ । यो मूर्तिले पनि मातातीर्थको महत्त्व बढाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया