सक्रिय सङ्क्रमितमध्ये ४२ हजारभन्दा धेरै काठमाण्डाै उपत्यकामा

 बैशाख ३०, २०७८ बिहिबार २०:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै नेपालमा काेराेना भाइरसकाे सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक लाख पाँच हजार दुई सय सात पुगेकाे छ । नेपालमा काेराेना सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या पनि बढ्न थालेकाे हाे । 

देशभर रहेकाे सक्रिय सङ्क्रमितमध्ये ४२ हजारभन्दा धेरै काठमाण्डाै उपत्यकाका छन् । बिहीवार (आज) सम्म काठमाण्डाै उपत्यकामा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ४२ हजार ६ सय ६६ रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याे कुल सक्रिय सङ्क्रमित सङ्ख्याकाे ४० प्रतिशतभन्दा धेरै हाे ।

काठमाण्डाैमा अहिलेसम्म एक लाख ५६ हजार पाँच सय ३३ जनामा सङ्क्रमण पुष्टि भएकाेमा एक लाख २४ हजार चार सय ५३ जना निकाे भएका छन् । अहिले काठमाण्डाैमा ३१ हजार ७३ जना सक्रिय सङ्क्रमित छन् । 

यस्तै भक्तपुरमा अहिलेसम्म १५ हजार पाँच सय ६८ जनामा सङ्क्रमण पुष्टि भएकाेमा १० हजार ६ सय १४ जना निकाे भएका छन् । अहिले भक्तपुरमा चार हजार सात सय ५३ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

ललितपुरमा अहिलेसम्म २६ हजार तीन सय २७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाेमा १९ हजार दुई सय १५ जना निकाे भएका छन् । अहिले ललितपुरमा ६ हजार आठ सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । 

काठमाण्डाै उपत्यकामा अहिले एक हजार आठ सय ४३ जना आइसाेलेशनमा, दुई सय पाँच जना आईसीयूमा र ९२ जना भेन्टिलेटरमा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया