अक्सिजन सिलिन्डर सङ्कलन अभियानलाई तीव्र बनाउँदै वाग्मती प्रदेश प्रहरी

 बैशाख ३१, २०७८ शुक्रबार १६:५४:६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – प्रदेश प्रहरी कार्यालय हेटौँडा र मातहतका कार्यालयले अहिलेसम्म ६ सय ७० थान अक्सिजन सिलिन्डर सङ्कलन गरेका छन् । उद्योग व्यवसाय, वर्कशप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाइड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा व्यक्तिबाट गरी खाली तथा भरिएका अक्सिजन सिलिन्डर सङ्कलन गरेर बिरामीको उपचारमा सहयोग गरिँदै आएको छ ।

वाग्मती प्रदेश प्रहरीले अक्सिजन अभावमा नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थाप्रति संवेदनशील भइ अक्सिजन सिलिन्डर सङ्कलन गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गरेको हो । सङ्कलित अक्सिजन सिलिन्डर सम्बन्धित जिल्लाको निर्णयअनुसार आवश्यकताका आधारमा विभिन्न अस्पताल, आइसोलेशन केन्द्रमा उपलब्ध गराउने कार्यलाई अघि बढाइएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले बताउनुभयो ।

कोभिड–१९ का सङ्क्रमितलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युवरण गर्नुपरेको घटना बढ्दै गइरहेकाले यो अभियान सञ्चालन गरिएको एसपी सिलवालले जानकारी दिनुभयो । अस्पतालमा अक्सिजन सिलिन्डरको खपतसमेत बढ्दै गइरहेकाले अस्पतालबाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिन्डर सङ्कलन गर्ने कार्य गरिएको हो । 

वाग्मती प्रदेश अन्तर्गतका प्रहरी इकाइबाट चलाइएको अभियानमा अहिलेसम्म एक सय २९ थान भरी र पाँच सय ४१ थान खाली गरी जम्मा ६ सय ७० थान अक्सिजन सिलिन्डर सङ्कलन गरिएको एसपी सिलवालले बताउनुभयो । सङ्कलित सिलिन्डर सम्बन्धित जिल्लामै प्रयोग गर्न व्यवस्थापन गरिएकोमा सहयोग गर्न सकिने केही सिलिन्डर अत्यावश्यक भएका अन्यत्र ठाउँहरुमा समेत उपलब्ध गराउने गरिएको छ  । जसमध्ये कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र छाउनी काठमाण्डौलाई १० थान भरी र ४० थान खाली सिलिन्डर उपलब्ध गराइएको छ ।

त्यसैगरी स्वर्गद्वारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, हेटौँडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिन हाइवे अस्पताललाई ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया