जन्डिसकाे बिरामीले जस्ताे जता पनि पहेँलाे देख्ने प्रवृत्ति राजनीतिमा देखियाे : प्रम ओली

 बैशाख ३१, २०७८ शुक्रबार १९:१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे राजनीतिमा जन्डिसकाे बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्ति देखा परेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले विरोधीहरूले सरकारका उचित प्रयासलाई भ्रमपूर्ण ढङ्गले प्रचार गरी नागरिकमा अन्याेल सिर्जना गर्ने काम गरेकाे बताउनुभएको हो ।

ओलीले कोभिड १९ सङ्क्रमणको भयावह अवस्थामा त्यसविरुद्धको लडाइँमा एकजुट हुनुपर्नेमा सरकारका प्रयासलाई ओझेल पार्ने र नागरिकमा निराशा पैदा गर्ने काम भएको दाबी गर्नुभयो । उहाँले  जन्डिसकाे बिरामीले जता पनि पहेँलो देखे जस्तै सबैतिर भ्रष्टाचार देख्ने, काम गर्ने संस्था र व्यक्तिलाई हतोत्साही गर्ने काम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोभिड १९ का विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा विभिन्न प्रकारले अस्वस्थ्य,अनुचित र तनावग्रत वातावरण बनाउने र नागरिकमा अन्याेल सिर्जना गर्ने, निराशा पैदा गर्ने, सरकारका प्रयासलाई ओझेलमा पार्न खोज्ने, प्रयासलाई असफल पार्न खोज्ने , उचित प्रयासलाई भ्रमपूर्ण ढङ्गले प्रचार गर्ने र जन्डिसकाे बिरामीले जस्तो जता पनि पहेँलो देख्ने, जता पनि भ्रष्टाचार देख्ने र काम गर्ने संस्था र व्यक्तिलाई पनि काम गर्न हतोत्साहित गर्ने प्रवृत्ति भइरहेका छन् ।’ 

उहाँले कोभिड १९ सङ्क्रमितको उपचारमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो । कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचारमा सरकारले प्रभावकारी कदम चाल्ने र आवश्यक पर्ने स्वास्थ्य सामग्रीका साथै अग्रपङ्क्तिमा रहेर उपचार सेवा गर्नेहरूलाई प्रभावकारी ढङ्गले प्रोत्साहन सुविधा उपलब्ध गराउने आश्वासन दिनुभयो । साथै सबै नागरिकलाई यथाशीघ्र कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था सरकारले मिलाउने पनि ओलीले उल्लेख गर्नुभयो । निषेधाज्ञाको समयमा उद्योग व्यवसाय र रोजगारीमा परेको प्रभावलाई सम्बोधन गर्न र त्यसको प्रतिकूल असर नपरोस् भन्नेतर्फ सरकार सजग रहेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले यी सबै कामका लागि आवश्यक सम्पूर्ण स्रोत र साधन परिचालन गर्ने कुरामा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले निजी क्षेत्रका अस्पताललाई सेवाको भावना राखेर बिरामीको उपचारमा लाग्न तथा कोभिड नियन्त्रण तथा रोकथामका सरकारलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले कोभिड नियन्त्रणका लागि खरिद गरिएका कुनै पनि सामानमा भ्रष्टाचार वा अनुचित लाभ लिन खोज्ने काम भए उनीहरूमाथि कडाइका साथ कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले अक्सिजन उत्पादन पूर्ण क्षमतामा गर्न र ढुवानी तथा वितरणलाई व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले आफूले देश र नागरिकप्रति बफादार भएर काम गर्ने, शपथका शब्दहरूको कार्यान्वयनका निम्ति सक्रिय प्रयास अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री ओलीले  त्यसका लागि कर्मचारीबाट पनि प्रभावकारिता र सक्रियताका साथ काम हुने विश्वास आफूले लिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया