मिरिस्तीखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

 जेठ १, २०७८ शनिबार १०:५७:४२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी –  ४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माण सम्पन्न मिरिस्तीखोलाको विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । 

माउण्टेन इनर्जी प्रालि नेपालले बनाएको यस आयोजनाको सबै काम सकेर आवश्यक तयारी पूरा गरेपछि उत्पादित विद्युतलाई बिहीबार राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हाे । आयोजनाको पावरहाउसभित्र रहेका तीनवटै युनिटबाट उत्पादित विद्युत दाना सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा पठाइएको आयोजनाका आवासीय इन्जिनियर दिवाकर खड्काले जानकारी दिनुभयो ।

मिरिस्तीखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रणालीमा जोडिएको बताउँदै आवासीय इन्जिनियर खड्काले परीक्षणका लागि आयोजनाका सबै विद्युत युनिटहरु सञ्चालन गरिएको बताउनुभयो । परीक्षण उत्पादन र सव–स्टेशनमा विद्युत जडान कार्यका लागि नेपाल विद्युत प्राधिकरणको टोली नारच्याङ आएको उहाँको भनाइ छ । आयोजनाको २३ सय मिटर लामो सुरुङ तथा १६ सय मिटरको पाइपबाट ल्याइएको पानी तीनसय मिटर माथिबाट टर्बाइनमा खसालेर विद्युत् उत्पादन गरिएको छ । 

नारच्याङमा निर्माण गरिएको आयोजनाको पावर हाउसदेखि दाना सव–स्टेशनसम्म विद्युत् जडानका लागि ट्रान्समिसन लाइन निर्माण गरी उत्पादित विद्युत पठाइएको हो । नारच्याङको बेंसीगाउँमा रहेको पावरहाउसबाट परीक्षण उत्पादनको समय १५ दिन रहेको छ । यस अवधिमा उत्पादित विद्युत प्राधिकरणलाई निःशुल्क उपलब्ध गराइने हुँदा त्यसपछि व्यावसायिक उत्पादन गरिने जनाइएको छ । यसअघि दाना सव–स्टेशनमार्फत गरिएको परीक्षण सफल भएको थियो । आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको छ ।  ​

घलेम्दी र निलगिरी खोला मिसिएर मिरिस्ती नामाकरण भएको यस खोलाको सहायतामा ४२ मेगावाट क्षमताको विद्युत निकाल्ने तयारी थालिएको थियो । आयोजनाका लागि मिरिस्तीखोलाको मुहानतर्फ ड्याम निर्माण गरिएको छ । आयोजना निर्माणको सम्पूर्ण काम सकेर परीक्षण उत्पादन सुरु गर्दा झण्डै चार वर्षभन्दा बढी समय लागेको छ । गएको चैत तेस्रो साता परीक्षण उत्पादनको तयारी गरिएको भए पनि आयोजनामा कार्यरत कामदार तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि डेढ महिनापछि मात्रै उत्पादन परीक्षण थालिएको हो । 

कालीगण्डकीको किनारमा निर्माण गरिएको यस आयोजनाको पावरहाउसको छेकबाँधका लागि ग्याबिन, जाली तथा पर्खाल लगाइएको छ । आयोजनाको २०७३ सालको जेठ अन्तिमबाट निर्माणकार्य सुरु गरिएको थियो । तोकिएको समयमै आयोजना निर्माणसम्पन्न गरी विद्युत उत्पादन गर्ने भनिए पनि गतवर्ष विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस तथा लामो समयसम्म जारी लकडाउन, प्राकृतिक प्रकोप जस्ता कारणले निर्माणमा ढिलाई भएको हो । 

अन्नपूर्ण गाउँपालिकाअन्तर्गत विभिन्न वडामा निलगिरी जलविद्युत् आयोजना र निलगिरी क्यास्केट–२ गरी एकसय १० मेगावाट, घारखोला जलविद्युत् आयोजना १४ मेगावाट र रेलेखोला जलविद्युत् आयोजना ६ मेगावाट निर्माणाधीन अवस्थामा रहेको नारच्याङका स्थानीय अगुवा तेजबहादुर गुरुङले बताउनुभयो । यसैगरी कालीगण्डकी गर्ज एकसय ६४ मेगावाट, रुप्सेखोला जलविद्युत् आयोजना चार मेगावाट र मध्यकालीगण्डकी आयोजना ५३ दशमलव ५३ मेगावाट निर्माणको क्रममा रहेका छन् । 

यसअघि पाँच मेगावाट क्षमताको लघेम्दीखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न भई गएको माघ महिनादेखि कालीगण्डकी प्रसारण करिडोर आयोजना २२० केभी दाना सव–स्टेशनमार्फत उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिसकिएको छ । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना समेत सञ्चालनमा रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया