कोरोनाको त्रास नै भुलाइदिने ‘बैँसालु’ टोड्के (फोटो फिचर)

 जेठ १, २०७८ शनिबार १६:४२:१४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – माथि डाँडामा उक्लिएर हेर्‍यो भने आँखै अगाडि देखिने सेताम्य हिमाल । जति हेर्‍यो उति हेरिरहुँ लाग्ने पाखापखेरा । चाँदी झैं टल्किने हिमालको तलतिर वसन्तले ल्याएको नयाँ रङ्ग । साँच्चै, कोरोनाको त्रास नै भुलाइदिने बैँसालु टोड्के ।

जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएकाे छ । पर्यटन प्रवर्द्धनको आकर्षणस्थल बनेको टोड्के पर्यटकीय र धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ ।

बिहानी सूर्योदय अनि बेलुकाको सूर्यास्तले यहाँ आउने जोकसैलाई सम्मोहन लगाइदिन्छ । ​टोड्केमा पुगेर चारैतिर सुन्दर दृश्यहरुको अवलोकन गर्ने हो भने त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध नहोलान् भन्न सकिन्न । टोड्केमा पुस, माघमा पर्ने हिउँ खेल्न र चैत, बैशाखको लालीगुराँसमा फोटो खिचाउन मानिसहरु हुरुक्कै हुन्छन् । चराचुरुङ्गीको चिरबिर–चिरबिर आवाज, हरियाली वनजङ्गल, तरेली परेका सुन्दर डाँडाकाँडा र आकर्षक दृश्यसहित म्याग्दी तथा छिमेकी जिल्लाको केही भू–भाग देखिने टोड्केको बेलीबिस्तार धेरै नगरौं ।

टोड्केमा अहिले होइन, धेरै पहिलेदेखि नै मानिसहरु जान्थे । उतिबेला खासगरी मानिसहरु टोड्केमा उत्पादन गरिएको मुला खरिद गर्न जान्थे भने आजकाल घुमफिर गर्न । टोड्केमा पछिल्लोपटक भौतिक पूर्वाधारको विस्तारपछि स्वदेशी पर्यटकको आकर्षण बढेको हो ।

दुईवर्ष अघि सञ्चालनमा आएको सामुदायिक लज, तीनवटै स्थानीय तहबाट सडकको पहुँच विस्तार, पदमार्ग निर्माण, विद्युत र इन्टरनेटको सुविधा विस्तारसँगै टोड्केलाई जवानी चढेको भनिएको हो । विकासका पूर्वाधार र आवासको विस्तारसँगै जवानी चढेको छ टोड्केमा । त्यसैले त यसले पर्यटकलाई लोभ्याइरहन्छ, बोलाइरहन्छ र यतै भुलाइदिन्छ । नजिकैबाट प्रकृतिको सुन्दरतामा रमाउन पाइने भएपछि पर्यटकहरु नजाने कुरै भएन । 
यसअघि नेपाल सरकारले टोड्केलाई पर्यटकीय क्षेत्र घोषणा गरी पूर्णगाउँ, झीँ र वाखेतमा होमस्टे कार्यक्रम लागू गरेपछि टोड्केमा विकास हुन थालेको हो । टोड्केमा पर्यटन बोर्डको ३४ लाख रकमबाट पदमार्ग र गोलघर (प्रतिक्षालय) निर्माण गरिएको छ भने तत्कालीन (वास) परियोजना दोस्रो चरणको आर्थिक सहयोगमा बाथरुम र शौचालय बनाइएको छ ।

स्वदेशी र विदेशी पर्यटकहरुको आगमन बढ्दै जान थालेपछि भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको थियो । पछिल्लोपटक स्थानीयले सामुदायिक लज निर्माण गरेपछि अहिले टोड्के भ्रमण गर्ने पर्यटकहरुको आगमनमा वृद्धि भएको टोड्केका स्थानीय मिनबहादुर थजालीले जानकारी दिनुभयो । उहाँका अनुसार टोड्केमा मानिसहरु विभिन्न कार्यक्रम लिएर, साथीभाइ मिलेर पिक्नीक खान र लालीगुराँस, हिमालहरु तथा प्रकृतिको अवलोकन गर्न जान्छन् । बालबालिकादेखि अधबैंसे उमेर समूहको गन्तव्य टोड्के बनेको छ । 

किन जाने टोड्के ?

समन्द्री सतहबाट २ हजार ५ सय मिटरको उचाइमा अवस्थित टोड्के निकै सुन्दर, आकर्षक र मनमोहक छ । टोड्के पुगेपछि सुन्दर दृश्यहरुको अवलोकन गर्न पाइन्छ । मनमा उत्पन्न तनावलाई कम गर्न सकिन्छ भने प्राकृतिक सौन्दर्यमा रमाउन पाउँदा शरिरमा जोश र जाँगर पनि बढ्छ ।

प्रकृतिसँग आनन्द लिँदै मोबाइलमा फोटो, सेल्फी र भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट्याउन पाइने हुँदा टोड्केको पनि पर्यटन प्रवद्र्धन हुन्छ । साथीभाइसँग मिलेर पिक्नीक तथा घुमफिरका लागि पनि जान सकिन्छ । टोड्के पुगेर बास बस्न नपाइएला भन्ने चिन्ता छैन । सामुदायिक लजमा बसेर अर्गानिक उत्पादनको स्वाद लिन पाइन्छ । त्यस्तै मगर समुदायको कला, संस्कृति र स्थानीय रहनसहनको बारेमा पनि जानकारी हासिल गर्न सकिन्छ । 

जब टोड्के पुगिन्छ नि, त्यहाँबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरी हिमाललाई नजिकबाट नियाल्न पाइन्छ । यसका साथै अन्नपूर्ण, मानापाथी, नीलगिरीलगायत मनोरम हिमश्रृङ्खलाहरुको दृष्यावलोकन गर्न सकिन्छ । टोड्केको धुरीबाट म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै हिमाली जिल्ला मुस्ताङ र पर्वतको डाँडाकाँडाहरु समेत देखिन्छन् । डाँडाकाँडाको आकर्षक दृश्यका साथै वनजङ्गलमा चराचुरुङ्गी र वन्यजन्तु जनावरलाई पनि देख्न पाइने टोड्केको अर्को आकर्षण हो । लालीगुराँससित मितेरी लाउन पाइने र हिमालसँग टाँसिएर फोटो खिच्न पाउँदा मन प्रफुल्ल हुन्छ । 

पर्यटन र धार्मिक महत्व बोकेको टोड्के अर्गानिक उत्पादनका हिसाबले पनि अब्बल छ । थोरै घरधुरी भएको यो ठाउँ व्यावसायिक रुपमा मुला खेती तथा आलु खेतीका लागि पकेट क्षेत्र मानिन्छ । टोड्केमा पुग्ने पाहुनाहरुलाई स्थानीयले अर्गानिक उत्पादन मुलाको चटनी, चाना, धजरा र आलुको स्वाद चखाउँछन् । टोड्केका स्थानीयले परम्परागत रुपमा विषादीरहित मुलाको खेती गर्दै आएका छन् । 

सामुदायिक लज सञ्चालन

पर्यटकीय सम्भावनायुक्त टोड्केमा सन् २०१९ मा स्थानीयबासिन्दाको पहलमा सामुदायिक लज स्थापना गरी सञ्चालनमा आएको छ । टोड्के हिल रिसोर्ट प्रालिद्वारा सञ्चालित सामुदायिक लजमा ९ जना संस्थापकसहित ३३ जनाले तीन करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।

आधुनिक सुविधासम्पन्न उक्त लजमा झण्डै एकसय जनाको क्षमता रहेको छ । लज सञ्चालनमा आएसँगै अहिले पर्यटक आगमन बढेको स्थानीयले बताएका छन् । लजमा आउने पर्यटकलाई स्थानीयस्तरमा उत्पादित अर्गानिक परिकारको स्वाद चखाउने गरिएको लजका सञ्चालक भीम शेरचनले बताउनुभयो । 

कसरी पुगिन्छ त टोड्के ?

म्याग्दी सदरमुकाम बेनीबजारदेखि टोड्के जान जिप चढ्न पाइन्छ । टोड्के हिल रिसोर्ट प्रालिले पनि जिपको व्यवस्था गरेको हुँदा रिसोर्टमा सिधै सम्पर्क गरेर जान सकिन्छ । सवारीसाधनमार्फत बेनीबाट डेढ घण्टाको यात्रामा सजिलै टोड्के पुगिन्छ ।

यहाँ पुग्नका लागि म्याग्दीको सदरमुकामबाट बेनी नगरपालिका–५, पुलाचौर हुँदै चिप्लेटी–डडुवा र पूर्णगाउँ, मंगला गाउँपालिका भएर कुहुँ हुँदै तथा रघुर्गगा गाउँपालिकाबाट पनि बेनी–पात्लेखेत–झीँ भएर टोड्के पुग्न सकिन्छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया