प्रदेश सरकारको चार करोड लगानीमा पशुपालन कार्यक्रम सञ्चालन, युवा किसानकाे आकर्षण बढ्दै

 जेठ ४, २०७८ मंगलबार १५:३९:५४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा किसानलाई लक्षित गरेर पशुपालनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । विदेशिने युवालाई स्वदेशमै रोकेर स्वरोजगार बनाउन तथा आर्थिक विकास गर्ने उद्देश्यका साथ युवा लक्षित कार्यक्रमलाई जोड दिइएको हो । 

स्वदेशमा केही काम पाइएन भन्दै विदेशिने वा विदेशबाट फर्किएका युवा किसानलाई लक्षित गरेर म्याग्दीमा स्वरोजगारमूलक विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रमअनुसार गण्डकी प्रदेश सरकारले पशुपालनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । युवालाई स्वदेशमै रोजगारको अवसर सिर्जना गरी आत्मनिर्भर बनाउन पशुपालनका कार्यक्रमलाई जोड दिइएको छ । 

प्रदेश सरकारको भूमि, कृषि तथा सहकारी मन्त्रालयमार्फत म्याग्दीमा सबैभन्दा धेरै ६४ लाख रुपैयाँको लागतमा साना व्यवसायी फार्म स्थापना तथा विस्तार कार्यक्रम रहेको छ । यसैगरी ५१ लाख ४० हजार रुपैयाँकाे लागतमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग, ४० लाख रुपैयाँको लागतमा पशुपक्षी बीमा कार्यक्रम, ३० लाख रुपैयाँको लागतमा भैँसी विकास र आमयान्त्रिकरण कार्यक्रम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । त्यस्तै कोरोना भाइरस (कोभिड–१९) राहततर्फ युवा किसानलाई ५० प्रतिशत अनुदानमा कुखुरा पालन कार्यक्रम पनि सञ्चाल नगरिएको छ । 

पशुपालन व्यवसाय वृद्धि गर्न र उत्पादन बढाउनका लागि डेरी तथा मासु पसल सुधार, पुराना पोखरी मर्मत सम्भार, माछाका भुरा वितरण, पाडापाडी हुर्काउने तथा हिउँदे र वर्षे घाँस उत्पादनको बिउबिजन सहयोग गर्ने जस्ता कार्यक्रम रहेका छन् । कार्यक्रममार्फत विदेशबाट फर्किएर आएका युवा किसान, व्यावसायिक फार्म दर्ता गरेका किसान, किसान समूह, कृषि तथा पशुपक्षी सहकारी संस्था र निरन्तर पशुपालनमा सक्रिय किसानलाई छनोट गरी सहयोग गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका पशु सेवा प्राविधिक सुवास रेग्मीले जानकारी दिनुभयो । 

म्याग्दीमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको कुल चार करोड २४ लाख ९९ हजार रुपैयाँको लागतमा पशुपालनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् । विनियोजित बजेट तथा कार्यक्रमको सहयोगमा बाख्रापालक किसानलाई अनुदानमा उन्नत जातको बोका सहयोग गर्ने कार्यक्रम पनि रहेको छ । यसका साथै नयाँ गाई–भैँसी, बाख्रा, बङ्गुर, माछा र कुखुरापालनको पकेट क्षेत्र विस्तारका कार्यक्रम छन् । प्रदेश सरकारको आर्थिक सहयोगमा आफूले विदेशबाट फर्किएपछि व्यावसायिक बाख्रापालन सुरु गरेको म्याग्दीको बेनीनगरपालिका २ खबराका युवा किसान कर्णबहादुुर खड्काले बताउनुभयो ।

अहिले म्याग्दीमा व्यावसायिक रूपमा भैँसीपालन, बाख्रा, कुखुरा तथा बङ्गुरपालन गर्ने युवा किसानकाे सङ्ख्या बढ्दै जान थालेको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा खासगरी बेनी नगरपालिकाभित्र धेरैजासाे युवा व्यावसायिक भैँसीपालनमा आबद्ध छन् । पाँच  गाउँपालिकामा भने तुलनात्मक रूपमा बाख्रा तथा भेडापालन गर्ने किसान धेरै छन् । जिल्लाभर ४८ हजार आठ सय ५८ हेक्टर चरन क्षेत्र रहेकोमा दुई सय जनाभन्दा बढी किसान पशुपालनमा सक्रिय रहेको कार्यालयको तथ्याङ्क छ ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया