चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने

 जेठ ५, २०७८ बुधबार १०:६:५८ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्टको कारण संक्रमितहरुको संख्या र अक्सिजन नपाएर ज्यान गुमाउनेहरुको संख्या बढिरहेको बेला चौरजहारीले अक्सिजन प्लान्ट जडान गर्ने भएको हो । 

लक्षण सहितका कोरोना भाइरस संक्रमितहरुको सफल उपचारको लागि अक्सिजन प्लान्ट आवश्यक भएको भन्दै खरिदको प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिका मेयर विशाल शर्माले अक्सिजन प्लान्ट जडान गरेर संक्रमितहरुको प्रभावकारी ढंगले उपचार गरिने बताउनुभयो ।

चौरजहारी अस्पतालसँग समन्वय गरेर अक्सिजन प्लान्टको खरिद र जडानको काम सुरुवात गरिएको र प्राविधिक समस्या नआएमा एक हप्तामा सञ्चालन हुने मेयर शर्माले बताउनुभयो । उहाँका अनुसार अक्सिजन प्लान्ट सञ्चालनको लागि करिब ९० लाखको लागत अनुमान गरिएको छ । 

‘अहिले कर्णाली प्रदेश सरकारलाई केही सहयोगको लागि माग गरेका छौँ’, मेयर शर्माले भन्नुभयो ‘प्रदेशबाट हुन सकेन भने पनि नगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ ।’ 

चौरजहारी नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि विभिन्न सचेनामूलक कार्यक्रमको साथै ४५ बेडको आइसोलेशन अस्पताल समेत सञ्चालन गरेको छ । नगर क्षेत्रका खोलागाउँ, कोटजहारी र चौरजहारीमा अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटरको व्यवस्थासहित १५/१५ बेडका आइसोलेशन अस्पताल बनाइएको नगर प्रमुख शर्माले जानकारी दिनुभयो । 

चौरजहारी नगरपालिकाले १ करोड २३ लाख रुपैयाँ लागतमा अघिल्लो वर्षको असारदेखि पीसीआर परीक्षण प्रयोगशाला समेत सञ्चालनमा ल्याएको थियो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया