सङ्घीय र प्रदेश सरकारले हेरेन, हामीलाई सहयाेग गर्नुस् : चाँगुनारायण नगरपालिका

 जेठ ५, २०७८ बुधबार २०:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – कोभिड–१९ सङ्क्रमित भएका स्थानीयवासीको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई सङ्घीय र प्रदेश सरकारले नहेरेपछि चाँगुनारायण नगरपालिकाले सहयोगको आह्वान गरेको छ । 

गएको दश दिनदेखि कोरोना अस्पतालमा रुपान्तरण गरेपछि कोभिड सङ्क्रमित बिरामीको चाप बढ्दै गएको तर दुवै तहका सरकारबाट सहयोग नपाएपछि चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले अस्पतालका लागि अत्यावश्यक सामग्री जुटाइदिन सार्वजनिक रुपमा नै आह्वान गर्नुभएको हो ।

आफैँ कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बसिरहनु भएका मेयरले सहयोगका लागि गर्नुभएको हो । गएको वर्ष कोभिड–१९ को सङ्क्रमण फैलिएपछि सरकारले हरेका पालिकामा अस्पताल बनाउन निर्देशन दिएलगत्तै चाँगुनारायण नगरपालिकाले वडा नं. ४ हुचिढुङ्गामा निर्माण भएको सुविधा सम्पन्न स्वास्थ्य चौकीलाई १५ बेडको अस्पतालको रुपमा विस्तार गरी २०७७ मङ्सिर २८ गते तत्कालीन सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । 

अन्य अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटर नपाइरहेको अवस्थामा यहाँका कोरोनाका बिरामीको उपचारका लागि अत्यावश्यक पर्ने डिजिटल एक्सरे, आईसीयूका लागि मोनिटर ६ थान, १० थान हाइड्रोलिक शय्या सहयोग गर्न मेयर मिश्रले सार्वजनिक रुपमा आह्वान गर्नुभएको हो । 

उहाँले भन्नुभयो, ‘ग्रामीण क्षेत्रमा रहेको यो अस्पतालमा अहिले कोरोनाका बिरामीले शय्या भरिएको छ, नगरपालिकाले सबै खर्च व्यहोर्दै आएको यो अस्पताललाई अहिलेसम्म सङ्घीय र प्रदेश सरकारले कुनै सहयोग गरेको छैन, माथिल्लो सरकारले कम्तीमा उपकरण सहयोग गरिदिए हुन्थ्यो, सरकारको आँखा नपरेपछि बाध्य भएर नागरिकस्तरमै सहयोगको आह्वान  गरिएको  हो ।’ नगरपालिकाले अहिले स्वास्थ्यका लागि दैनिक एक लाख रुपैयाँ खर्च गर्दै आएको र पीपीई सेटको समेत अभाव हुँदै गएको उहाँको भनाइ छ ।

नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग रेडियोग्रार्फी, मेडिकल अक्सिजन प्लान्ट, कम्तीमा पाँच आईसीयू बेड, भेन्टिलेटर, ल्याब विस्तार र जनशक्तिको व्यवस्थापनको माग गर्दै पत्राचार गरेको छ । भक्तपुरमा सबै सरकारी अस्पताललाई सङ्घीय सरकारले सहयोग गरेको तर यो अस्पताललाई सरकारले सहयोग नगरेको भन्दै स्थानीयवासीले सामाजिक सञ्जालमा  आक्रोश पोखेका छन् । सङ्घीय सरकारसँग यस अस्पतालका लागि बजेट व्यवस्थापन गर्न प्रतिनिधि सभाका सांसद महेश बस्नेतले पहल गरिरहेको बताउनुभयो ।

नगरपालिकाले सानो १४ र ठूलो ३६ वटा गरी ५० वटा अक्सिजन सिलिन्डरको जोहो गरी वडा नं. ३ र ४ का वडाध्यक्षले आलोपालो गर्दै रातभरि लाइन बसेर अक्सिजन ल्याउने गरेका छन् । अहिलेसम्म अक्सिजन छैन भनेर बिरामी फर्काउनु र बिरामी आफैँलाई अक्सिजन ल्याऊ भन्नुपर्ने अवस्था नआएको मेयर मिश्रले बताउनुभयो ।

नगरपालिकाले स्थानीयवासीका लागि नेपाल इन्जिनियरिङ कलेजमा एक सय बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ भने एम्बुलेन्स र शव वाहन पनि सञ्चालनमा ल्याएको छ । जिल्ला खेलकुद समितिले चाँगुनारायण नगर अस्पताल र आइसोलेशनमा रहेका बिरामी र कुरुवालाई निःशुल्क खाना खुवाउने व्यवस्था गरेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया