खजुर फल्दै छ, खाडीमा गर्मी बढ्दै छ

 जेठ ६, २०७८ बिहिबार ११:२९:९ | नारायण कोइराला
unn.prixa.net

खजुर फुल्दै छ अनि, अरबतिर गर्मी बढ्दै छ । खजुर र खबुजले हामी नेपालीलाई अरबको झल्को दिन्छ । तर यसको हरियालीमा रम्दा भने अर्कै आनन्द मिल्दो रहेछ ।

इदको बिदामा रुममा बस्दा दिक्क लागे पछि केही साथीभाइ मिली आफ्नै क्याम्पको कम्पाउन्ड भित्र रहेको सामान्य हरियाली तिर लागियो । साँझ पर्न लागेकाले होला शीतल हावा पनि चल्दै थियो । 

हामी बस्ने क्याम्पभन्दा बाहिर दुबोको हरियाली छ । त्यसमाथि खजुरका रुखहरू । खाडी भएर के गर्नु देख्नलाई सोचभन्दा सुन्दर छ । साँझपख खजुरको रुख मुनी, हरियो दुबोलाई स्पर्श गर्दै बस्नुको मज्जा बेग्लै हुन्छ । 

तर अहिले कोरोनाले धेरै कुरा खोसेको छ  । खजुरको रुख मुनी समूहमा बस्न पाइँदैन । जानकारी नै लेखिएको हुन्छ । यहाँको नियम फेरि नेपालको जस्तो हुँदैन । पाइँदैन भनेपछि पाइँदैन नै । नेपालमा त प्रहरीले देखेनन् भने प्रतिबन्धित ठाउँमा जान सूचनाले रोक्दैन । 

तर यहाँ त्यस्तो हुँदैन । यो हाम्रा लागि परदेश हो । फेरि नियम मान्नु भनेको हामी सबैको दायित्व पनि हो । नियमहरू हाम्रो सुरक्षाका लागि बनाइएका हुन भनेर हामीले बुझ्नुपर्छ ।

म र मेरो साथी पनि दूरी कायम गर्दै खजुरको रुख मुनी बस्यौँ । सितलु हावाले कोरोनाको त्रासमा मलम लगाएझैँ भयो ।

हावा चल्ने ठाउँमा होस् या नहोस्, हामीले चिनेको मान्छे होस् या नचिनेको । हामीले अनिवार्य रूपमा सही तरिकाबाट मास्क लगाउन पर्छ । मेरा कतिपय साथी मास्क चिउँडोमा राखेर बोल्नुहुन्छ तर म उहाँहरूलाई त्यस विषयमा सचेत गराइहाल्छु ।

यहाँ त मास्क सही तरिकाले लगाएन भने चर्को जरिबाना तिर्नुपर्छ । यहाँको ३ हजार दिर्हाम अर्थात् झण्डै एक लाख रुपैयाँ मास्क सही तरिकाले नलगाउनेहरूलाई जरिबाना हुन्छ । कल्पना गरौंन एक लाख रुपैयाँ कमाउन एउटा सामान्य कामदारले कति मेहनत गर्नुपर्छ । यस्तै कारणले पनि होला सायद यहाँका मानिस अलिक सचेत लाग्छन् ।

हामीले बुझ्ने हो भने त यो बेला जरिबानाभन्दा ज्यान ठुलो हो । त्यस कारण हामीले जरिबानाभन्दा पनि ज्यानलाई माया गर्नुपर्छ ।

हरेक पटक खजुरको रुख हेर्दा आनन्द लाग्छ । दिनभरि दुःख गरेको पीडा पनि कम भए झैँ हुन्छ । तर दुःखको कुरा के भने खजुर फुल्दै जाँदा खाडीमा खजुरका फूल फक्रिएझैँ गर्मी पनि बढ्छ ।

यहाँको खजुर नेपाल जानेहरूका लागि विशेष कोसेली बन्छ । धेरै नेपालीको मायाको कोसेली खजुर भर्खर फल्दै छ । 

नेपालतिर सजिलै नदेखिने भएकाले पनि हाम्रो लागि खजुरको रुखको महत्त्व पनि विशेष हुन्छ ।

र त भन्न मन लाग्छ फल्दै गरेको खजुर अरबको हो हजुर ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया