राष्ट्रिय सभा उपचुनावको मतदान चल्दै

 जेठ ६, २०७८ बिहिबार ११:५६:३३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशको राष्ट्रिय सभा उपचुनावको मतदान भइरहेको छ । हेटाैँडाको भुटनदेवी माध्यमिक विद्यालयमा अहिले मतदान भइरहेको हो ।

यस्तै कोरोना परीक्षणको रिपोर्ट नल्याउने मतदाताहरुको जाँच पनि मतदान स्थलमा नै भइरहेको छ ।

पालिका र प्रदेशसभाका जनप्रतिनिधिले कोरोना जाँच गरेको रिपोर्ट नल्याएकाले एन्टिजेन विधिमार्फत परीक्षण गर्दै मतदान पनि भइरहेको हो ।

सङ्क्रमित जनप्रतिनिधिहरुले छुट्टै लाइनमा बसेर मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।

मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

मतदातालाई कोरोना परीक्षणको रिपोर्ट ल्याउन भनिएको तर रिपोर्ट नल्याएकाहरुलाई एन्टिजेन विधिमार्फत परीक्षण गराएर परीक्षणको नतिजाअनुसार मतदान गर्न लगाइने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो।

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिनुभएको छ ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनावमा मतदान सुरु भएको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया