हातमा औषधि र साथमा स्वास्थ्यकर्मी लिएर सङ्क्रमितकाे घरघर पुग्ने वडाध्यक्ष

 जेठ ६, २०७८ बिहिबार १४:५५:५६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – हातमा अक्सिजन लेभल नाप्ने मेसशन र औषधि, साथमा स्वास्थ्यकर्मी लिएर रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का वडाध्यक्ष बिर्खबहादुर विष्ट कोरोना भाइरसका सङ्क्रमितको घरघरै पुग्नु थाल्नुभएकाे दुई हप्ताभन्दा बढी भयाे ।  

रुकुम पश्चिममा गएकाे वैशाख १९ गतेदेखि लगाइएकाे निषेधाज्ञायता वडाध्यक्ष विष्ट हरेक दिन आफ्ना मतदाता र कारोना सङ्क्रमितहरूसँगै हुनुहुन्छ । अहिले गाउँघरमा व्याप्त भाइरल ज्वरोले धेरैजसाे स्थानीयवासी थला परेको बेला स्वास्थ्यकर्मी र साथमा बोकेका औषधिले निकै काम गरेको छ । वडाध्यक्ष यसरी आँगनमै पुगेर स्वास्थ्य अवस्था जाँच गर्न लगाउने र कुरा सुनिदिने गर्दा स्थानीयवासी खुसी भएका छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्टले स्थानीयवासी त्रसित भइरहेका बेला सङ्क्रमितहरूको घरमै पुगेर आफू साथमै रहेको अनूभूति दिने काम गरिरहनुभएकाे छ वडाध्यक्ष विष्ट । आफू विजयी भएको वडामात्रै नभएर त्यही गाउँपालिकाका ७, ८ र ९ नम्बर वडावासीकोमा समेत पुग्नुहुन्छ उहाँ । सङ्क्रमित र परिवारजनको आत्मबल बढाउन र समस्या भएमा तत्काल उद्धार गर्न सजिलो होस् भनेर उहाँ घरघरमै पुग्न थाल्नुभएको हो । अहिलेसम्म ५० जना सङ्क्रमित र अन्य स्थानीयवासीलाई स्वास्थ्यर्कीसहित घरमै पुगेर सेवा दिएको वडाध्यक्ष बिर्खबहादुर विष्टले बताउनुभयो । 

‘स्वास्थ्यकर्मी, औषधिसहितको टोली घरमै लिएर जाँदा सङ्क्रमितको मनोबल बढाउने तथा तत्कालको स्वास्थ्य अवस्थाबारे जानकारी लिने नै मूल उद्देश्य हो’, उहाँले भन्नुभयो, ‘अप्ठ्यारो महसुस भएको बेला जनप्रतिनिधि नागरिककै साथमा रहनु महत्त्वपूर्ण हुन्छ ।’ वडाध्यक्ष विष्टले कोरोना सङ्क्रमितको घर गएर उनीहरूसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिने र स्वास्थ्यर्कीले जाँच गरेपछि आवश्यक पर्ने औषधिसमेत दिने व्यवस्था मिलाउनु भएको छ ।   

सङ्क्रमितको अक्सिजनको मात्रा नाप्ने, मास्क दिने, लक्षणअनुसारका औषधि दिनेसमेत गरिएको स्वास्थ्यकर्मी मनोज ओलीले बताउनुभयो । सङ्क्रमितको लक्षणका आधारमा जीवनजल, सिटामोल, सिटिजेट, एमक्लोर, एमोक्सी, कोट्रिम, मेट्रो लगायतका औषधि दिइएको ओलीले बताउनुभयो ।

‘अहिलेसम्म पुगेका घरका सङ्क्रमितको अवस्था सामान्य नै पाइएको छ, जटिल अवस्थाकालाई अस्पताल पुर्‍याउने काम पनि भइरहेको छ’, वडाध्यक्ष विष्टले भन्नुभयो, ‘हिजोमात्र जिल्ला अस्पतालसम्म केही बिरामी पुर्‍याएर उपचार सुरु गरिएको छ ।’ 

कोरोनाको महामारी सुरु भएपछि उहाँले विपन्न परिवारलाई आवश्यक राहतको व्यवस्था गर्नुका साथै सङ्क्रमणबाट बच्न सचेतनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया