केभ हिल : मायालु बिर्साउने डाँडा ! (फोटो फिचर)

 जेठ ८, २०७८ शनिबार १३:४९:४१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पूर्व र उत्तरतर्फ फर्किएर हेर्ने हो भने सेताम्य हिमशृङ्खला । हिमालयकाे काखमा पारिलाे घाम ताप्न लमतन्न परेका ग्रामीण बस्ती । एकाबिहानैको सूर्योदय अनि बेलुकाको सूर्यास्त मज्जाले हेर्न पाइने म्याग्दीको पर्यटकीयस्थल केभहिलको बारेमा कतिलाई थाहा होला !

आकाश खुलेको बेला वरदेखि परसम्मका हिमालहरु छर्लङ्गै देखिन्छन् । नागबेली डाँडाकाँडाको दृश्य साथै मनोरम हिमशृङ्खलालाई जति हेरे पनि थाक्दैनन् परेला । जसरी आफ्नी प्रेमिकालाई जति हेरे पनि अघाउन्नन् आँखा । साँच्चै यी डाँडाकाँडाले मायालुलाई पनि केही छिन भुलाइदिन्छ ।

पुस, माघमा पर्ने हिउँ र फागुनदेखि जेठसम्म ढकमक्क फुल्ने लालीगुराँस । डाँडाकाँडामा ठाेक्किएर गुराँसकाे खुस्बुसँगै फिर्ता आउने हावाकाे झाेक्का । एक भेटकाे सम्झना दिलाइरहन केभहिलले अचेल पर्यटकहरुसँग सुसेली मार्छ । जिल्लाको बेनी नगरपालिका–५, पुलाचौरमा पर्ने गाजने गाउँ नजिकै छ केभहिल । तरेली परेका सुन्दर पहाडहरु हेर्न पाइनु र म्याग्दीका सबै स्थानीय तहसहित बागलुङ, पर्वतसमेत देखिनु केभहिलको अर्को विशेषता हो ।

गाजने गाउँ र ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरभन्दा केही माथि रहेको केभहिल अर्थात् गुफाको डाँडामा पछिल्लोपटक स्वदेशी पर्यटकहरु पुग्ने गरेका छन् । गुफाको डाँडाको सम्बन्ध पर्यटन र अध्यात्मसँग जोडिएको छ । परापूर्वकालमा ऋषिमुनिहरु आएर तपस्या गरेको किम्बदन्ती रहेकाले यसको नाम गुफाको डाँडा भएको गाजनेका स्थानीय निलकण्ठ शर्माले बताउनुभयो । यहाँबाट चारैतिर हेर्न पाइने र हिमालको अगाडि पर्ने भएकाले तपस्या गरेको ठाउँलाई अहिले केभहिल भन्न थालिएको उहाँको भनाइ छ ।

बेनी नगरपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरुमध्ये केभहिल पनि एक हो । यहाँ पुगेर मनोरम दृश्यहरु हेर्न पाउँदा धर्तीकै स्वर्गमा पुगे जस्तो आनन्दको अनुभूति गर्न पाइने त्यहाँ पुग्ने पर्यटकहरुको भनाइ छ । केभहिलमा पुगेर लालीगुराँसको सुगन्ध सुँघ्दै हिमाललाई पृष्ठभूमिमा पारेर फोटो, भिडियो र सेल्फी लिन सकिन्छ । त्यहाँ पुग्दा केभहिलले साँच्चिकै मोहनी लगाउँछ, मोहित बनाउँछ र घण्टौंसम्म त्यो ठाउँलाई नछोडीकन त्यहीँ बसौं–बसौं लाग्ने हुन्छ । प्रसिद्ध जगन्नाथ मन्दिरको दर्शन तथा पूजाआजा गर्न गएका पर्यटकहरु एकैछिन भए पनि केभहिलमा पुगेर रमाउँछन् ।

समुद्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित केभहिलको डिलबाट चारैतिरको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण, नीलगिरी, माछापुच्छ्रे , मानापाथी, गणेश, गुर्जा लगायतका दर्जन बढी हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।

म्याग्दीको बेनी नगरपालिकासहित ६ वटै स्थानीय तह र जिल्लाको साविक ४१ मध्ये ३६ वटा गाविसहरु देख्न सकिन्छ । यसैगरी छिेमकी जिल्ला पर्वतको उत्तरी जलजला गाउँपालिकासहित बागलुङ र अन्य जिल्लाको डाँडाकाँडाहरु समेत देखिन्छन् ।

जगन्नाथ मन्दिर​

याे क्षेत्र पर्यावरणीय दृष्टिले जति सुन्दर छ त्यति नै यसकाे धार्मिक महत्व रहेकाे छ । गाजने गाउँको बीच भाग हलहलेचौरमा भगवान् जगन्नाथको मन्दिर रहेको छ ।

मन्दिरबाट १० मिनेटको पैदलयात्रामा केभहिल पर्दछ । जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्य गएर जगन्नाथ भगवानको मूर्ति ल्याई मन्दिरको स्थापना गरेको किम्बदन्ती पाइन्छ । त्यही समयदेखि नै गाजनेमा  कुखुरा, संगुर, बंगुर पाल्न तथा अवैध घरेलु मदिरा उत्पादनमा रोक लगाइएकाे  छ । अहिले पनि सबैले यस नियमकाे पालना गरिरहेका छन् ।

ऐतिहासिक डढेकोत राजदरबार

जगन्नाथ मन्दिरदेखि आधा घण्टाको दुरी तथा गाजने गाउको सिरमा ऐतिहासिक डढेकोत राजदरबार रहेको ठाउँ पर्दछ । यस ठाउँमा अहिले दरबारको भग्नावशेष भेट्न सकिन्छ भने एउटा सानो कोत मन्दिर रहेकाले स्थानीयले हरेक वर्षको दशैंमा नवदुर्गाको पूजा गर्छन् । समुद्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा रहेको छ डढेकोत दरबार ।

दधिकाेत दरबारकाे भग्नावशेष

यहाँबाट पनि मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकनसहित ग्रामीण सौन्दर्यतालाई नियाल्न सकिन्छ । डढेकोत दरबारमा तत्कालीन समयमा भीषण बज्रपात परेपछि दरबार ध्वस्त भइ डढेको इतिहास रहेकाले डढेकोत दरबार भनिएको भन्ने विश्वास रहिआएकाे छ । 

सौरबोट र रानीले कपाल कोर्ने डिल

केभहिलदेखि पूर्वतिर १५ मिनेटको दुरीमा सौरबोट र रानीले कपाल कोर्ने डिल पर्दछ । सौर प्रजातिका बोटविरुवाहरु अधिक भएर सौरबोट नाम रहेको मान्यता छ । सौरबोटको नजिकै रानीले कपाल कोर्ने डिल अवस्थित छ । यसैको मूनि राजाले घोडा दाउने पाटो समेत रहेको स्थानीय बताउँछन् । डढेकोत दरबारबाट राजपरिवार सौरबोटमा दैनिक नित्यकर्म गर्न जाने र सरसफाइका क्रममा नुवाइधुवाइपछि रानीले सौरबोट नजिकै डिलमा बसेर कपाल सुकाउने र कोर्ने गरेकाले रानीले कपाल कोर्ने डिल नाम रहन गएको किम्बदन्ती भेटिन्छ । यस ठाउँमा यहाँका स्थानीयको २ सय रोपनी खेतीयोग्य जमिन पनि छ । यहाँ जुनसुकै समयमा पनि बनभाेज (पिक्निक) खानलाई जान सकिन्छ ।

कसरी पुग्ने केभहिल ?

पर्यटकीयस्थल केभहिलको विकास गरी पर्यटन प्रवर्द्धनका लागि यस क्षेत्रमा विकासका पूर्वाधारहरु थपिने क्रम बढेको छ । अहिले बाटाेहरु बन्दै छन् । गुफाको डाँडामा पुग्नका लागि गाजने गाउँसम्म सडकको पहुँच विस्तार भइसकेकाे छ । पर्यटकहरलाई थप दृश्यवलाेकन हाेस् भनेर भ्यु–टावर बनाइँदै छ । बेनी नगरपालिका, वडा कार्यालय र स्थानीयको पहलमा २० लाख रुपैयाँको बजेटबाट केभहिलमा भ्यु–टावर बनाउन लागिएको हो । यसका साथै स्थानीयले त्यहाँ हेलिप्याड पनि बनाएका छन् । 

म्याग्दी सदरमुकाम बेनीदेखि गाजने गाउँका लागि जीप पाइन्छ । सवारीसाधनमा ४५ मिनेटमा पुगिने गाजनेमा जगन्नाथको दर्शनपछि केभहिल गएर रमाउन सकिन्छ । पैदल रमाउनेहरुकाे लागि पनि यहाँ पुग्न रमाइलै हुन्छ । बेनी–गुफा–पुलहाश्रम–ढोल्ठानसँग जिस्किँदै ३ घण्टाको पैदलयात्रामा गाजने पुग्न सकिन्छ । अझै पर्यटकहरुकाे लागि सजिलाे हाेस् भनेर पछिल्लाे समय पदमार्गकाे विस्तार पनि हुँदै छ । पदमार्ग भएरै धौलागिरि बेसक्याम्प पनि पुग्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

1 Comments

  • prakriti dhungana

    May 22, 2021, 4:13 p.m.

    धेरै रमाइलो ठाउको विज्ञापन गर्नू भयो प्रताप दाईले अवस्य घुम्ने मौका पाइएला।।

  •  0 Reply

तपाईको प्रतिक्रिया