संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन अदालत जाने

 जेठ ८, २०७८ शनिबार १४:२५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनको कदमको प्रतिवाद गर्ने भएको छ । आज बसेको दलहरुको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनको कदमको राजनीतिक र कानुनी प्रतिवाद गर्ने र अदालत जाने निर्णय गरेको हो ।

प्रधानमन्त्रीका लागि बहुमत सांसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक कदम अघि बढाएको विपक्षी गठबन्धनमा सहभागी दलका नेताहरुले बताएका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा ३ अनुसार बनेको प्रधानमन्त्रीले उपधारा ४ अनुसार विश्वास लिनुपर्ने बाध्यकारी व्यवस्था हुँदासमेत त्यसको उल्लंघन भएको र यसको कानुनी उपचार खोज्ने विपक्षी गठबन्धनले निर्णय गरेको छ ।

यस्तै विपक्षी गठबन्धनले प्रधानमन्त्री ओलीसँगको मिलेमतोमा बदनियतपूर्वक प्रतिनिधिसभा विघटन गरेर नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गर्ने काम भएको निष्कर्ष निकालेको छ । कात्तिक र मंसिरमा घोषित चुनाव नहुने र सत्ता लम्ब्याउने मनसायले मध्यावधि चुनावको घोषणा गरिएको विपक्षी गठबन्धनले छलफलपछि सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण आम नागरिक आक्रान्त भइरहेको समयमा नागरिकको जीवन रक्षा गर्नुपर्ने ठाउँमा संसद नै विघटन गर्नु अराजक काम भएको विपक्षी गठबन्धनका नेताहरुले बताएका छन् । विपक्षी गठबन्धनको संयुक्त बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पोडेलसहितका अरु नेताहरु पनि सहभागी भएका थिए ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया