निषेधाज्ञालाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

 जेठ ९, २०७८ आइतबार ६:४४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो ।

गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञा कार्यान्वयनमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको हो । यस्तै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पनि भीडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको छ ।

प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गरेको सन्दर्भमा समर्थन र विरोधका कार्यक्रमहरु हुन सक्नेतर्फ सचेत गराउँदै गृह मन्त्रालयले सुरक्षा निकायहरुलाई भीडभाड हुने जुनसुकै गतिविधि रोक्न भनेको छ । निषेधाज्ञाका पालना नगर्नेलाई हालै जारी कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही प्रक्रिया अघि बढाउन पनि गृह सचिव न्यौपानेले निर्देशन दिनुभएको छ ।

अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक गाडी चलाएर कारबाही गर्न सक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुई पाङ्ग्रेलाई दुई हजार र अन्य गाडीलाई पाँच हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिँडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

महामारीविरुद्धको काममा अवरोध पुर्याएमा सम्बन्धित व्यक्ति वा संस्थाका प्रमुखलाई एक वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजाय, आदेश अटेर गरेमा ६ महिनासम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने प्रावधान पछिल्लो अध्यादेशमा समेटिएको छ ।

महामारी रोकथामका लागि प्रशासन कार्यालयबाट जारी आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई एक लाख र संस्था भएमा पाँच लाख रुपैयाँसम्म जरिवाना असुल्ने कडा प्रावधान समेटिएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि अहिलेसम्म खोटाङ र मनाङबाहेक ७५ वटा जिल्लाहरुले निषेधाज्ञा जारी गरिसकेका छन् ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया