तापक्रममा हुने घटबढले  स्वास्थ्यमा समस्या हुन सक्छ, सावधानी अपनाऔँ

 जेठ ९, २०७८ आइतबार ९:२०:३ | डा. बाबुराम मरासिनी
unn.prixa.net

वातावरणमा हुने तापक्रम घटबढका कारण रुघाखोकी लाग्ने भाइरसहरु सक्रिय हुने सम्भावना रहन्छ ।  तापक्रममा चार, पाँच डिग्रीको फरक पर्नेबित्तिक्कै मानिसको शरीर अस्थिर हुन्छ। शरीर अस्थिर भएपछि रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । जसका कारण रुघाखोकी लगायतका रोगहरु धेरै फैलने सम्भावना रहन्छ । तापक्रम धेरै भएमा  वा गर्मी भएमा घमौरा आउने, ज्वरो आउने लगायतका स्वास्थ्य समस्या देखिन सक्छ । 

सिमसिम पानी पर्ने वा छोड्ने भएमा लामखुट्टेहरु धेरै बढ्छन् । एडिस नामक लामखुट्टेले डेङ्गी फैलाउँछ । तापक्रम घटबढ भइरहँदा कोरोना सङ्क्रमित बिरामीलाई अर्को भाइरसको सङ्क्रमण हुन सक्ने जोखिम भएकाले जोखिमपूर्ण हुन्छ । 

मौसम बद्ली भएर पानी पर्दा कोरोना सङ्क्रमण नभएकाहरुलाई पनि असर गर्छ । यो समयमा भाइरस धेरै सक्रिय हुने सम्भावना रहन्छ ।  पानी परेको छ भनेर घरमै बसिरहन सबै ठाउँमा सम्भव हुँदैन । गाउँघरमा पानी परेको समयममा पनि गाई भैँसीलाई दाना, पानी, घाँस खुवाउन र त्यो सङ्कलनका लागि घरको भित्र र बाहिर गर्नुपर्ने हुन्छ । 

यसरी भित्र, बाहिर गर्दा  भाइरस सङ्क्रमण हुने जोखिम हुन्छ ।  रुघाखोकी तथा स्क्रब टाइफस लगायतका भाइरस शरीरमा  प्रवेश गर्ने सम्भावना रहन्छ । मौसम बद्लीको समयमा विभिन्न खालका सावधानीहरु अपनाउनु पर्छ । घरबाट बाहिर निस्कँदा मास्क लगाउने, घर आइसकेपछि साबुनपानीले हातखुट्टा र मुख राम्ररी धुने, गर्नुपर्छ ।

यसरी सरसफाइ गर्दा हातखुट्टामा किटाणुहरु रहेछन् भने पनि साबुनपानीले धुँदा जान्छ र किटाणुले असर गर्न पाउँदैन । लामखुट्टेबाट बच्न  सुत्दा झुलको प्रयोग गर्नुपर्छ । तातो, सफा र झोलिलो खानेकुराहरु प्रशस्त मात्रामा खानुपर्छ । बासी र सडेगलेका खानेकुराहरु खानु हुँदैन । बासी र सडेगलेका खानेकुरा खाँदा स्वास्थ्यमा  अरु विभिन्न खालका समस्याहरु देखिन सक्छन् भने फुड पाेइजन हुने सम्भावना पनि उत्तिक्कै रहन्छ । 

अहिले कुनै पनि स्वास्थ्य समस्या भएमा, निषेधाज्ञाका कारण अस्पतालसम्म पुग्न समस्या छ । अस्पतालहरु कोरोनाका बिरामीले भरिभराउ भएकाले अरु  खालका स्वास्थ्य जटिलताका  कारण अस्पताल जाँदा कोरोना सङ्क्रमण हुन सक्ने डर छ । यस्तो अवस्थामा सम्भव भएसम्म घरबाटै डाक्टरको सल्लाह लिनुपर्छ । 

तर नेपालको समग्र अवस्थालाई हेर्ने हो भने घरबाटै डाक्टरको सल्लाह र उपचार लिन त्यति सम्भव छैन । केही सहरी क्षेत्र र पढेलेखेका मानिसले केही हदसम्म घरबाटै केही सेवा लिन वा रोग बारे बुझे पनि सबै ठाउँमा त्यो सम्भव हुँदैन । दूर दराजका मानिसलाई कसरी डाक्टरहरुसँग स्वास्थ्य समस्या बताउने र डाक्टरको सहयोग कसरी लिने भन्ने समस्या छ । सेवा लिइहालेमा पनि नजिकै स्वास्थ्य संस्था वा औषधि पसल समेत नहुँदा चुनौती हुने गरेको छ ।  

देश सङ्घीय प्रणालीमा प्रवेश गर्नुभन्दा अगाडि गाउँघरमा एकै पटक धेरै मानिस बिरामी भएको, ज्वरो आएको खबर आउनेबित्तिक्कै रेपिड रेस्पोन्स टिम भनेर खटाउने गरिएको थियो । कहिले जिल्लाबाट र कहिले काठमाण्डौबाट पनि टिम प्रभावित ठाउँमा खटाइन्थ्यो । र क्षेत्रीय निर्देशनालयहरुबाट पनि पठाउने गरिएको थियो । 

टिमले बिरामी भएका ठाउँमा गएर रोगको नमुना परीक्षण गर्ने र उपचार गर्ने  गर्थे । अहिले त्यस्तो भएको छैन । केही पनि नभएको अहिलेको जोखिमपूर्ण अवस्थामा सामान्य ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्थामा गएर वा औषधि पसलमा प्यारासिटामोल किनेर खान पनि सकिन्छ । पहिलाको तुलनामा अहिले नेपालमा धेरै ठाउँहरुमा औषधि पसलहरु पुगेका छन् । 

स्वास्थ्य संस्था वा औषधि पसल नजिकै नभएको ठाउँमा,  ज्वरो आउने लगायतका सामान्य समस्या भएमा घरेलु उपचार गर्नुपर्छ । ज्वरो आएको बिरामीलाई  चिसो पानीपट्टी लगाउने वा पर्याप्त मात्रामा झोलिलो पदार्थ खाने गरेमा  आराम मिल्छ । 

अहिलेको समय कोरोना भाइरस र रुघाखोकी दुवैको उत्तिक्कै जोखिम छ । रुघाखोकी र कोराना भाइरस सङ्क्रमणको लक्षण  पनि लगभग मिल्दोजुल्दो नै हुन्छ । त्यही भएर परीक्षण नगरि सामान्य रुघाखोकी वा ज्वरो हो अथवा कोरोना भाइरसको सङ्क्रमण भएको हो भन्न गाह्रो हुन्छ ।

सबै नागरिक स्वास्थ्यको पहुँचमा पुग्नका लागि एउटा मजबुद प्रणालीको विकास गर्नुपर्छ । हरेक महानगरपालिका, नगरपालिका र गाउँपालिकामा स्वास्थ्यको जाँच निगरानी र अनुगमन तथा उपचारका लागि सहयोग गर्ने र्‍यापिड रेस्पोन्स टिम बनाउन आवश्यक छ । 

स्वास्थ्य प्राविधिक, डाक्टर तथा नर्सको संलग्नतामा यस्तो टिम बनाउनु पर्छ । टिमले जीवनजल, सिटामोल र केही आधारभूत एन्टिबडी विकास गर्ने औषधिहरुको जोहो गरेर राख्नुपर्छ । 

कसैलाई केही समस्या हुने बित्तिक्कै टोली गएर जाँच गर्ने र  रोगको परीक्षण गरेर कोरोना हो या अरु कुनै समस्या भएको हो छुट्याउनुपर्छ । भर्ना गर्नुपर्ने अवस्था भए, सहयोग गर्ने, बेड खोज्ने तथा सामान्य समस्या मात्रै भएमा भने औषधिहरु दिने गर्नुपर्छ । अहिलेको लागि यसो गर्नु उत्तम हुन्छ । 

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा जनस्वास्थ्यविद् मरासिनीसँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ९, २०८१

डा. बाबुराम मरासिनी

डा. बाबुराम मरासिनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्यविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया