आफ्नै गाउँमा पौरख गरेर साउदीबाट श्रीमान् फर्काउने टुकादेवी(भिडियो कथा)

 जेठ १०, २०७८ सोमबार १६:५४:१९ | सन्जिता देवकोटा
unn.prixa.net

सर्लाही – ‘परदेशमा श्रीमान् हुनेहरूका लागि एउटा कक्षा हुँदै छ, तपाईँ पनि बस्ने हो ?’ टुकादेवी विकलाई देउरानीले सोधिन । 

श्रीमान् विदेशमा छन् भन्नासाथ महिलालाई कर्के नजरले हेर्ने समाजमा विदेश जानेका श्रीमतीकै लागि सञ्चालन हुने कक्षा भनेपछि टुकादेवीलाई पनि चासो लाग्यो

‘केही त छ, म पनि त्यो कक्षामा बस्छु,’ टुकादेवीलाई मनमा लाग्यो । धेरै नसोची हुन्छ भनिदिनुभयो ।

टुकादेवीलाई अहिले लाग्छ त्यो बेलामा सही गरेछु । किनकि परदेशका परिवारका लागि भनेर गाउँमा सञ्चालन भएको कक्षामा बसेपछि जीवनको बाटो नै फेरियो ।

श्रीमान् परदेश छँदा दिनभरि घरमै बसिरहने टुकादेवी व्यवसाय गर्न थाल्नुभयो । कक्षामा सहभागी भएकै कारण साउदीमा कोरोनाको कारण रोजगारी गुम्दा अलपत्रै परेका श्रीमानलाई स्वदेश फर्काएर घरैमा इलम गर्न काम गर्ने आँट भरोसा दिनुभयो ।

आजकाल त टुकादेवीलाई लाग्छ कमाउन र घर व्यवहार चलाउन श्रीमतीले पनि सक्ने रहेछन् मात्र उनीहरूलाई सही बाटो देखाउने कोही हुनुपर्दो रहेछ । 

त्यो सही बाटो टुकादेवीले गाउँमा परदेशीका श्रीमतीका लागि सञ्चालन भएको कक्षामा बसेपछि भेट्टाउनुभयो । 

उहाँको गाउँमा परदेशीका परिवारका लागि सञ्चालन भएको कक्षा वित्तीय साक्षरता कक्षा हो । यो कक्षा उहाँको गाउँमा सुरक्षित आप्रवासन परियोजना अन्तर्गत हरिबन नगरपालिकाको नेतृत्वमा बाग्मती सेवा समाज नेपालले सञ्चालन गरेको हो ।  

कक्षामा सहभागी नहुँदासम्म टुकादेवीलाई व्यवसायीक रूपमा आफूले पनि काम गर्न सक्छु जस्तो कहिल्यै लागेन । परदेशबाट श्रीमानले कमाएर पठाएको पैसा ऋण तिर्दैमा ठिक्क हुन्थ्यो । ठुलो व्यवहार आइलागेका बेलामा त घर चलाउन कति पटक ऋणसमेत काढ्न पर्यो । अझ गएको वर्ष जेठदेखि टुकादेवीलाई अर्को आइपर्यो । 

साउदीमा काम गरिरहेका श्रीमानको कोरोना महामारीका कारण कम्पनी टुट्यो । त्यतीमात्र होइन कम्पनी यति निष्ठुरी भइदियो कि घर फर्किने पक्रियासमेत गरिदिएन । न त त्यहाँ खान र बस्नको प्रबन्ध नै गरिदियो । 

कोरोनाको त्रास नेपालमा पनि त्यस्तै थियो । कोरोनाको भन्दा पनि परदेशमा आफ्नो मानिसलाई केही हुने पो हो कि भन्ने अत्यासले टुकादेवीलाई गलाउँथ्यो । 

‘मेरो श्रीमान् साउदीमा अलपत्र परेका बेलामा कक्षामा बसेकै थिइनँ, मलाई विदेशमा समस्यामा परेकाहरूलाई सहयोग गर्ने ठाउँहरू पनि छन् भन्ने पनि थाहा थिएन,’ टुकादेवी पछुतो मान्दै भन्नुहुन्छ,‘बुझेर, जानेर परदेश पठाउन पाएको भए त दुःख नहुने रहेछ नि, दुःख नपर्दासम्म मानिसलाई त्यसको बारेमा थाहै नहुने रहेछ, मलाई पनि थाहा थिएन ।’

एक दिन त समय सही होला भन्ने आस बाहेक केही बाँकी थिएन टुकादेवीको मनमा । आकाशमा चरा बाहेक केही उड्दैनन् । सडकमा सर्वसाधारणका लागि गाडी गुड्दैनन् । उता परदेशमा श्रीमान् छटपटीमा छन् । 

केही समयपछि विदेशबाट सरकारले नेपालीलाई ल्याउन थाल्यो । तर ती जहाजमा टुकोदेवीका श्रीमान् मेघराज विक आउन सकेनन् ।

गएको वर्ष असोजदेखि गाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन भयो । कक्षामा सहभागी भएपछि नै विदेशमा समस्यामा पर्नेहरूलाई सहयोग मिल्छ भन्ने कुरा थाहा पाउनुभयो । आपतमा परेका बेला टुङ्गा खोज्दा देउता मिल्यो भने झैँ भयो । आफ्नो समस्या वित्तीय साक्षरता प्रशिक्षकसँग राख्नुभयो ।

‘मेरो श्रीमान् साउदीमा अड्किनुभएको लगभग पाँच महिना पूरा हुन थालिसकेको थियो, आज आउँछु भन्नुहुन्छ, भोलि भन्नुहुन्छ त्यसै गरी महिनौँ बित्यो, कम्पनीले आउने अनुमति नै नदिएको रहेछ,’ त्यो अत्यासलाग्दो पर्खाइ सम्झिदै टुकादेवी भन्नुहुन्छ,‘म कक्षामा बसेपछि बल्ल मेरो श्रीमान् फर्काउने पहल सुरु भयो ।’

वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि टुकादेवीलाई श्रीमान् स्वदेश फर्काउन मात्र होइन जीवनको बाटो अघि बढाउन पनि सहज भयो ।

सामी परियोजनाद्धारा सर्लाहीमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमार्फत साउदीमा समस्यामा पर्नुभएका मेघराजको स्वदेश फिर्तीको प्रक्रिया सुरु भयो । 

स्रोत केन्द्रले यताबाट प्रक्रिया सुरु गरिदिएपछि साउदीमा रहेको नेपाली दूतावासले पनि मेघराजको स्वदेश फिर्तीको प्रक्रिया छिटो गरिदियो । 

‘कति पटक दूतावासमा हाम्रो समस्या राखेको हो, तर मजस्ता त्यहाँ हजारौँ थिए, त्यही भएर होला त्यो बेला तत्काल सुनुवाइ भएन, तर यहाँबाट भनेपछि भने हाम्रो समस्या अझ छिटो सम्बोधन भयो र म फर्कन पाएँ,’ मेघराज भन्नुहुन्छ ।’ उहाँ साउदीमा रहेको नेपाली दूतावास र आप्रवासी स्रोत केन्द्रकै सहयोगमा नेपाल फर्कनुभयो । 

वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि टुकादेवीलाई श्रीमान् स्वदेश फर्काउन मात्र होइन जीवनको बाटो अघि बढाउन पनि सहज भयो ।

महिनौँदेखि कमाउन गएका श्रीमानको कमाइ छैन । घरमा बालबच्चा अनि साहुको ऋण । टुकादेवीका अघिल्तिर चिन्तै चिन्ता मात्र थियो । तर अब कक्षामा बस्न थाल्नुभयो तब ससाना कामबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने ज्ञान भयो । लगानी गर्ने तरिका सिक्नुभयो ।

‘मेरो घरमा पहिले पनि बङ्गुर त थियो तर व्यवसायीक रूपमा पालेको थिइनँ एउटा, वित्तीय साक्षरता कक्षामा बसेपछि व्यवसायीक रूपमा पाल्ने तरिकाहरू थाहा पाएँ,’टुकादेवीले मुस्कुराउँदै सुनाउनुभयो,‘त्यही भएर त श्रीमान् रित्तो हात फर्कँदा पनि के खाऊ के लगाऊ भन्न परेन नि ।’

टुकादेवीको घरमा एउटा बङ्गुर थियो । त्यो पनि बच्चा पाउने । एउटा बङ्गुरले थुप्रै वटा बच्चा पाउँछन् । टुकादेवीले त्यही बङ्गुरले पाएका बच्चाहरू नै हुर्काएर व्यवासायीक रूपमा पाल्न थाल्नुभयो ।

पहिला पनि घरमा एउटा बङ्गुर त टुट्दैन थियो । कुखुरा र बाख्रा पनि थिए । ती टुकादेवीको घर चलाउने आम्दानीको स्रोत थिएनन् । आम्दानी गर्ने तरिका जाने पनि भने टुकादेवीको घर चलाउने आधार तिनै बन्दै गए । 

एउटा पाल्दा होस् या चार वटा समय र मेहनत उत्तिकै लाग्छ । तर एउटा पाल्नु र चार वटा पाल्नुमा निकै फरक पर्छ । आम्दानी हुन्छ । त्यही भएको आम्दानी बचत र लगानी दुवै गर्न सकिन्छ । 

तँ आँट म पुर्याउछु भन्छन् नि । त्यस्तै भयो । टुकादेवीले सक्छु भनेर आँट्नुभयो  । आफूले थालेको काममा सफल पनि हुनुभयो ।

श्रीमानको कमाइमा भर पर्नु र आफैँले कमाउनुमा निकै फरक छ । टुकादेवीको अनुभवमा श्रीमानको कमाइ चलाउँदा मन कता कता कमजोर हुन्छ । तर आफैँले कमाएर आफैँले चलाउन पाउँदा आत्मविश्वास बढ्छ । म पनि सक्छु भन्ने आँट झन् बलियो भएर आउँछ ।

‘श्रीमानले कमाउनु र मैले कमाउनु उस्तै हुने रहेछ,आफूले पनि कमाउन थालेपछि त म चाहिँ के कम श्रीमानभन्दा जस्तो लाग्छ झन् केही गर्न आँट आउँदो रहेछ,’टुकादेवी आफ्नो अनुभव सुनाउनुहुन्छ ।

श्रीमान् साउदीमा छँदा टुकादेवी म पनि यही केही व्यवसाय गर्छु भनेर आफ्नो योजना सुनाउनुहुथ्यो । तर श्रीमानको जवाफ हुन्थ्यो एक्लै गर्न सक्दिनौ । त्यो बेला टुकादेवीलाई मनमा लाग्थ्यो –‘हैन मैले पनि केही गर्नुपर्छ, मैले केही गरेँ भने श्रीमानलाई पनि हौसला हुन्छ ।’

तँ आँट म पुर्याउछु भन्छन् नि । त्यस्तै भयो । टुकादेवीले सक्छु भनेर आँट्नुभयो  । आफूले थालेको काममा सफल पनि हुनुभयो ।

‘म्यामहरूले यस्तो कुरा सिकाउनुभएको छ म यसो गर्छु भनेर सुनाउँथेँ नि तर उहाँले त मलाई नआँट तिमी सक्दिनौ भन्नुहुन्थ्यो, मलाई भने मैले अहिले केही गर्न पाएँ अहो मेरो बुढीले त यसो गरेको रहेछ भन्ने उहाँलाई पनि हौसला हुन्छ जस्तो लाग्थ्यो,’ टुकादेवी भन्नुहुन्छ,‘मैले काम थालेपछि त उहाँलाई पनि मेरो बुढीले गर्ने रहिछ मैले आँट दिनुपर्ने रहेछ भन्ने भएछ ।’

दुवै जना मिलेर काम गर्दा सजिलो

श्रीमानको परदेशमा जागिर गुमेकोमा कुनै दुःख छैन टुकादेवीलाई । रित्तो हात नै सही आफूले स्वदेश फर्काउन सकेकोमा खुसी हुनुहुन्छ ।

वित्तीय साक्षरता कक्षामा बसेपछि घर वरपर भएका सम्भावनाहरू पहिल्याउन सक्ने हुनुभएकी टुकादेवीले श्रीमानलाई पनि कामको बाटो खोज्न सघाउनुभयो । बैंकबाट ऋण लिनुभयो । अनि अटो रिक्सा किन्नुभयो । 

मेघराजलाई पनि अब विदेश सम्झन मन छैन । घर फर्कनका लागि गर्न परेको सङ्घर्ष र त्यहाँ बिताएका ती दिन सम्झँदा मन अमिलो हुन्छ अहिले पनि । 

आजकाल टुकादेवीका श्रीमान् मेघराज अटो रिक्सा चलाउनुहुन्छ । अनि टुकादेवी चाहिँ बङ्गुर फाम र कुखुरा, बाख्राको रेखदेख गर्नुहुन्छ । 

बजारबाट चारो ल्याउनेदेखि घाँस ओसार्नसम्म श्रीमानले सघाउनु टुकादेवीलाई । मेघराज पनि परिवारकै साथमा बसेर काम गर्न पाउँदा खुसी हुनुहुन्छ ।

भन्नुहुन्छ,‘उसले त म विदेश छदादेखि नै पिर नलिनुस् यही केही गरौँला भन्थिन, मलाई नै के होला र जस्तो लाग्थ्यो, तर गर्दा त यही पनि हुँदो रहेछ ।’

मेघराजलाई पनि अब विदेश सम्झन मन छैन । घर फर्कनका लागि गर्न परेको सङ्घर्ष र त्यहाँ बिताएका ती दिन सम्झँदा मन अमिलो हुन्छ अहिले पनि । 

आजकाल त बरु दुवै जना मिलेर देशमै आफ्नो भविष्य बनाउने सपना बुन्छन् । टुकादेवी अझै बङ्गुर पालनलाई व्यवसायीक रूपमा अघि बढाउने योजनामा हुनुहुन्छ । 

‘खोरलाई अझै व्यवस्थित बनाउँछु, बङ्गुर नि थप्छु, यसलाई म दर्ता गरेर नै चलाउँछु,’टुकादेवी आफ्नो व्यवसायीक योजना सुनाउनुहुन्छ,‘अस्ति दुई वटा बेचेँ, बिरामी हुँदा उपचार गर्न पुग्यो, उहाँले पनि जसोतसो कमाउँदै हुनुहुन्छ, अब त जे हुन्छ यही गर्ने हो ।’

अन्तिम अपडेट: चैत १६, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया