प्रतिनिधि सभा विघटन असंवैधानिक भएको पूर्व सभामुखहरूको निष्कर्ष

 जेठ ११, २०७८ मंगलबार १६:२८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्व सभामुखहरूले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभाको निर्णय असंवैधानिक भएको निष्कर्ष निकालेका छन् । सभामुख अग्नि सापकोटाले मङ्गलवार (आज) गरेको छलफलमा पूर्व सभामुखहरूले प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक ढङ्गले व्यक्तिगत स्वार्थका लागि प्रतिनिधि सभा विघटन गरेकाले त्यसको कानुनी लडाइँ लड्नुपर्ने राय दिएका हुन् ।

छलफलमा पूर्व सभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती उपस्थित हुनुहुन्थ्यो भने तारानाथ रानाभाट र दमननाथ ढुङ्गानाले भर्चुअल माध्यमबाट सहभागिता जनाउनुभएको थियो ।

बैठकपछि पूर्व सभामुख तथा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कोरोना महामारीका बेला सरकारले सबै दललाई साथ लिएर प्रभावकारी काम गर्नुपर्नेमा अर्को राजनीतिक सङ्कट थप्नु गम्भीर आपत्तिको विषय भएको बताउनुभयो । कुनै पनि समस्याको विवाद समाधान संसदबाट खोज्नुपर्नेमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीकै कारण अदालतमा जानुपरेको पौडेलको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थिति दुई किसिमले सङ्कटग्रस्त देख्यौँ । एउटा राजनीतिक रूपले र अर्को कोरोना महामारीले देश सङ्कटग्रस्त छ । यस्तो सङ्कटको बेलामा प्रतिनिधि सभा छैन । के हाम्रा राजनीतिक विवादहरूको समाधानका लागि नै देशले र जनताले यस्तो ठूलो संसद्को निर्माण गरेका छन् । जनप्रतिनिधिहरूको थलो यो सदनबाट नै सबै समस्याको, विवादको समाधान खोज्नुपर्ने ठाउँमा यो भन्दा बाहिर गएर अदालततिर गएर समाधान खोज्नुपर्ने अवस्था सिर्जना गरिनुबारेमा गम्भीर दुःख र चिन्ता प्रकट गर्‍याैँ । सदनबाट नै राजनीतिक समस्याहरूले निकास पाउनुपर्छ र जनताको अस्तित्वमाथि कसैले पनि खेलबाड गर्नु हुँदैन भन्ने कुरा आजको बैठकबाट सन्देश दिन खोज्यौँ ।’

यस्तै पूर्व सभामुख तथा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले सरकार र राष्ट्रपतिको कदम संविधानको ठाडो उल्लङ्घन भएको कुरा राखेको बताउनुभयो ।

प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला सभामुख सापकाेटाले पूर्व सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ । सुवासचन्द्र नेम्वाङ भने छलफलमा उपस्थित हुनु भएन ।  

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया