मनहरी गाउँपालिकाको टोल टोलमा पक्की सडक

 जेठ १२, २०७८ बुधबार १३:६:१९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ बिजौनामा एक किलोमिटर लामो पक्की सडक निर्माण गरिएको छ । पहिले कच्ची सडकमा धुलो हिलोले समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दाहरु अहिले घरै अगाडिको सडक पक्की हुँदा खुशी छन् । 

छ मिटर चौडाइ रहेको यो सडक एक किलोमिटर लामो बनाइएको छ । सडक निर्माणका लागि मनहरी गाउँपालिकाको एक करोड रुपैयाँ र वाग्मती प्रदेश सरकारको एक करोड रुपैयाँ गरी दुई करोड लागतमा निर्माण गरिएको हो । सडकका केही भाग निर्माणको काम सकिएको छ भने केही भाग निर्माण भइरहेको छ । असार मसान्त सम्ममा काम सक्ने तयारी समेत छ । 

मनहरी गाउँपालिकाको प्रत्यक वडामा पक्की सडक निर्माणले प्राथमिकता पाएको अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । जनप्रतिनिधि आएपछि गाउँ गाउँमा पक्की सडक निर्माणले प्राथमिकता पाएको मनहरी गाउँपालिका वडा नम्बर–३ लामिटारकी सुनिता प्रजा पनि बताउनुहुन्छ । 

मकवानपुरको मनहरी गाउँपालिकामा सडक निर्माणका कामले तीव्रता पाएका छन् । पालिकाको वडा नम्बर–३ लामिटार देखि वडा नम्बर–१ चकरी सम्मको १७ किलोमिटर सडक निर्माण गर्नका लागि तीनै तहका सरकारको लगानी परेको छ । यस क्षेत्रको यो मूल सडकलाई फराकिलो पार्ने, नाली निर्माण, स्लाब ढलान, ग्राभेलिङ गर्ने लगाएतका काम गरिएको छ । चार वर्षमा यो सडक निर्माण गर्नका लागि गाउँपालिका सहित प्रदेश र संघको बजेट समेत गरेर नौ करोड रुपैयाँ लगानी गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । यो सडक निर्माणको काम अहिले पनि भइरहेको छ । यो सडकबाट मनहरीको वडा नम्बर १ देखि ४ सम्मका बासिन्दाहरुलाई फाइदा पुगेकोे छ ।

यस्तै मनहरी गाउँपालिका वडा नम्बर–६ को रुपाचुरी फरिवाङ सडक, वडा नम्बर–५ दर्दरा देखि चौडाखोला सम्मको चार किलोमिटर मूल सडकको काम पनि तीव्र रुपमा अगाडि बढीरहेको छ । यस्तै वडा नम्बर–७ मानेडाँडा रमौली सडक निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया