‘काेराेना महामारी नियन्त्रणका लागि नेपाललाई चीनकाे अझै सहयाेग चाहिएकाे छ’

 जेठ १२, २०७८ बुधबार १६:१८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सङ्क्रमणको सम्बन्धमा चीन सरकारले दिएको सहयोगका निम्ति आभार व्यक्त गर्नुभएको छ । बुधवार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले नेपाल र चिनका राजनीतिक दलसँग महामारीका बेला संयुक्त रूपमा अघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चीन सरकारले नेपालका लागि स्वास्थ्य सामग्री, खाेप र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभएको हो । 

कोभिडविरुद्धको खाेपमा चीनले प्राप्त गरेको सफलताको पनि उपप्रधानमन्त्री पाेखरेलले प्रशंसा गर्नुभएकाे छ । उहाँले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महामारी नियन्त्रणका लागि चीन सरकारले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु खुसीको कुरा भएको बताउनुभयो । नेपालको हिमाल, नदी र संस्कृतिसँग दुई देशबीचको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

नेपाली कांग्रेसका नेता नारायण खड्काले कोभिड–१९ महामारीका कारण अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री अभाव भइरहेका बेला नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेकामा धन्यवाद दिनुभयो । उहाँले महामारी नियन्त्रणमा चीनबाट नेपालले सिक्नुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई देशबीच असल मित्रताको सम्बन्ध रहेको बताउनुभयो । चीनले सधैँ नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको उल्लेख गर्दै महामारीको बेलामा उपलब्ध गराएको खोपलगायत स्वास्थ्य सामग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि खोपलगायत स्वास्थ्य सामग्रीमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले पछिल्लो पटक चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिन्डरका कारण मात्रै पनि हजारौँ नेपालीको जीवन रक्षा भएको बताउनुभयो । उहाँले लकडाउनको समयमा पनि राष्ट्रिय गौरवका आयोजनाको काम कम प्रभावित होस् भन्नेमा ध्यान पुर्‍याएकाे र काम भइराखेकाे बताउनुभयो ।

यस्तै चीनले अघि सारेको बीआरआई प्रोजेक्टमा नेपालले हस्ताक्षर गरेको तीन वर्ष बितिसकेको उल्लेख गर्दै उहाँले अब यसको कार्यान्वयनमा जानुपर्ने बेला आएको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बताउनुभयाे ।   

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया