कैलालीमा सङ्घीय सरकारको बजेटमा निर्माण भइरहेका ठूला पूर्वाधारका आयोजना कोरोनाले प्रभावित

 जेठ १२, २०७८ बुधबार १९:५३:२२ | सीताराम ओझा
unn.prixa.net

धनगढी–मोहनापुल–अत्तरिया ६ लेन सडक

कैलाली – कैलालीमा सङ्घीय सरकारको बजेटमा निर्माण भइरहेका ठूला पूर्वाधारका योजनाको काम कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरको सङ्क्रमणले प्रभावित हुँदा पुँजीगत बजेट खर्चको अवस्था दयनीय रहेको पाइएको छ ।

कैलालीमा सङ्घीय सरकारको बजेटमा निर्माण भइरहेका पूर्वाधारका योजनाको काम सुरु हुने बेला र आर्थिक वर्षको अन्तिम चौमासिक लाग्दा काेराेना सङ्क्रमण बढ्दा बजेट खर्च न्यून भएको अधिकारीहरूले बताएका छन । दोस्रो चौमासिकमा ३१ प्रतिशत बजेट खर्च भएकाे सङ्घीय सरकारका दश ठूला पूर्वाधारका योजनाको प्रगतिको अवस्था अन्तिम चौमासिकको डेढ महिना मात्रै बाँकी रहेको बेला मात्र आठ प्रतिशतले बढेर ३९ प्रतिशत मात्रै पुगेको हो ।

पहिलो र दोस्रो चौमासिकमा समेत खर्चको अवस्था सन्तोषजनक नरहेको देखिएका बेला तेस्रो चौमासिकमा पनि उस्तै स्थिति रहेको पाइएको हो । कैलालीमा सङ्घीय सरकारको बजेटमा १० ठूला पूर्वाधारका आयोजना सञ्चालन भइरहे पनि योजनाको प्रगति विवरण आशा गरे भन्दा फरक रहेको पाइएको छ । पुँजीगततर्फ दुई अर्ब ५९ करोड ५५ लाख बजेट रहेको क्षेत्रीय आयोजना कार्यान्वयन इकाइले तेस्रो चौमासिकमा २९ प्रतिशत खर्च गर्ने लक्ष्य राखेको भए पनि अहिलेसम्म ३६ करोड ६० लाख खर्च गरेर १४ प्रतिशत मात्र प्रगति गरेको छ ।

आयोजनाले नगर क्षेत्रमा सडक, ढल र सरकारी भवन निर्माणका लागि बहुवर्षीय ठेक्का गरेको भए पनि यस वर्ष भने कोभिडका कारण प्रगति कम देखिएको सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीका सूचना अधिकारी झङ्कर थापाले बताउनुभयाे । 

पुँजीगततर्फ ४२ करोड ५८ लाख रुपैयाँ बजेट पाएको हुलाकी सडक योजना कैलालीले अहिलेसम्म ३९ करोड ८१ लाख रुपैयाँ खर्च गर्दै ९३ प्रतिशत प्रगति गरेको छ । सबैभन्दा बढी प्रगति गरेको हुलाकी सडक योजनाले अहिले कोभिडका कारण काम बन्द जस्तै रहेको जनाएको छ । कोभिड सङ्क्रमण नभएको भए थप २० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य रहेको योजना कार्यालयले दाबी गरेको छ । हुलाकी सडक योजना कार्यालय धनगढीमा सूचना अधिकारी पदमबहादुर मडैले यस वर्ष कोभिडका कारण हुलाकी सडकको काम प्रभावित भएको बताउनुभयाे ।

निर्माणको अन्तिम चरणमा रहेको धनगढी–मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाले भने अरू आयाेजनाभन्दा राम्रो प्रगति गरेको छ । तर यो आयोजनामा पनि कोभिडका कारण समयमै काम सम्पन्न गर्न भने चुनौती थपिएको छ । पुँजीगततर्फ ४९ करोड १७ हजार रुपैयाँ बजेट पाएकोमा ४१ करोड १९ लाख खर्च गर्दै ८४ प्रतिशत प्रगति गरेको योजनाको दोस्रो चौमासिकसम्म आउँदा भने ६५ प्रतिशत प्रगति हासिल गरेको थियो । तेस्रो चौमासिकमा कोभिडका कारण नै प्रगति हासिल गर्ने गति घटेको ६ लेन सडक आयोजना कार्यालयका सूचना अधिकारी लक्ष्मण रावलले जानकारी दिनुभयाे ।

यी बाहेकका रानी–जमरा–कुलरीया सिँचाइ आयोजना, परियोजना कार्यान्वयन इकाइ, रानी जमरा सिँचाइ आयोजना कृषितर्फ, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, सहजपुर–बोक्टान–दिपायल सडक, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना गरेर कैलालीमा १० ठूला पूर्वाधारका योजनामा मात्र आठ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसमा अहिलेसम्म ३९ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ, याे दोस्रो चौमासिकभन्दा आठ प्रतिशतले मात्रै बढी हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया