सुदूरपश्चिममा एमालेका मन्त्रीहरूले राजीनामा नदिने, ‘यस्तो सङ्कटमा भाग्दा नागरिकको अपमान हुन्छ’

 जेठ १३, २०७८ बिहिबार १४:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् । एमालेको स्थायी कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिए पनि संसदीय दलको निर्णय मानेर आफूहरूले राजीनामा नदिने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज कर्ण थापाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएर पत्र पठाउनुभएको छ तर बुधवार (हिजो) बसेको संसदीय दलको बैठकले अहिले एमाले सरकारबाट बाहिरिँदा झनै सङ्कट आउने भएकाले मुख्यमन्त्री त्रिचोलन भट्टलाई दिएको साथ नछाड्ने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेश सभामा एमालेभित्र माधव नेपाल पक्षको बहुमत छ ।

महामारीको यो अवस्थामा सरकारले प्रभावकारी काम गर्नुपर्नेमा उल्टै राजीनामा दिँदा नागरिकमा गलत सन्देश जाने भएकाले आफूहरूले राजीनामा नदिने मन्त्री सुवेदीले बताउनुभयो । ‘नागरिक बचाउने बेलामा अस्थिरता निम्त्याउनु हुँदैन, एमाले जस्तो जिम्मेवार पार्टी समस्याबाट भागेको जस्तो देखिन्छ, त्यसैले अहिले हामीले कोरोना महामारी नियन्त्रण र नागरिकको औषधि उपचारमै ध्यान दिने निर्णय गरेका छौँ’. मन्त्री सुवेदीले भन्नुभयो ।

अहिले एमालेले छाडेमा तत्कालै अर्को सरकार बन्ने अवस्था नरहेको र अवस्था सहज भएपछि एमालेकै सरकार बनाउन प्रयत्न गर्ने पनि प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीले बताउनुभयो ।

सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा बहुमतका लागि २७ जना सदस्य आवश्यक पर्छ । जसमध्ये एमालेका सभामुखसहित २५ जना सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्रका १४ सांसदमध्ये झपट बोहरा एमालेमा प्रवेश गरेकाले जम्मा १३ जना सांसद रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया