राष्ट्रपति र प्रधानमन्त्रीको कदमले राजनीतिक सङ्कट निम्तियाे : सभापति देउवा

 जेठ १३, २०७८ बिहीबार १५:२६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएकाे बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा 'जुम'मार्फत् आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएकाे बताउनुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीको कदमले प्रजातन्त्रमा पनि खतरा आइपुगेको उहाँले बताउनुभयो ।

आफूले प्रधानमन्त्रीका लागि बहुमतभन्दा बढी सदस्यको हस्ताक्षर गरेर बुझाएको भए पनि राष्ट्रपतिले प्रमाणित गर्ने प्रयाससमेत नगरिकन प्रतिनिधि सभा विघटन गरेको उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपतिले प्रधानमन्त्रीले भन्नेबित्तिकै मान्न नहुने भन्दै सभापति देउवाले राष्ट्रपतिले पनि संविधानको ठाडो उल्लङ्घन गरेको बताउनुभयो । प्रधानमन्त्री र राष्ट्रपतिका कदमविरुद्ध सर्वोच्च अदालत गएकाले अदालतले न्याय गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

देउवाले भन्नुभयो, ‘बहुमतभन्दा बढी सदस्यको सही छापसहित हामीले बुझाएका थियौँ । अरू देशमा मान्छे बोलाएर यो हो कि होइन भनेर सोध्छन्, त्यो नगरिकन उहाँले मध्यरातमा विघटन गर्नुभयो । गर्न नहुने कुरा गर्नुभयो । राष्ट्रपति जस्तो व्यक्तिले सम्मानजनक पद धारण गरेको व्यक्तिले प्रधानमन्त्रीले भन्दैमा मान्नुपर्ने थिएन यो । किनभने यो संविधानको ठाडो उल्लङ्घन त प्रधानमन्त्रीले गर्नुभयो । राष्ट्रपतिले पनि गरेको देखिन्छ यहाँ । त्यसैले सर्वोच्च अदालत गएका छौँ । मलाई विश्वास छ अदालतले न्याय गर्नेछ । प्रजातन्त्रमा पनि खतरा आइपुगेको छ । अप्रजातान्त्रिक, असंवैधानिक हस्तक्षेप गरेर प्रधानमन्त्री र राष्ट्रपतिले नेपालमा राजनीतिक सङ्कट पैदा गरेका छन् ।’

कोभिड १९ को सङ्क्रमणले भयानक अवस्था सिर्जना गरेको भन्दै देउवाले सडक आन्दोलनमा जान नहुने बताउनुभयो । नागरिकमा गएर झन् कोभिड फैलाउने अपराध गर्न नहुने उहाँले स्पष्ट पार्नुभयो । मिडियालाई आवाज उठाउन र प्रतिनिधि सभा विघटनको विरुद्धमा जनमत सिर्जना गर्न पनि उहाँले आग्रह गर्नुभयो । संविधानलाई खतम पार्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले त्यस्तो षड्यन्त्रलाई अदालतले परास्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो । 

सभापति देउवाले आफूले पार्टीको अधिवेशन गराएन भन्ने कलङ्क आफ्नो टाउकोमा राख्न नचाहने पनि बताउनुभयो । पार्टीको आउँदाे अधिवेशन सम्पन्न गर्नका लागि आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । 

यस्तै कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र देश बचाउनुपर्ने सवाल अहिलेको प्रमुख सवाल रहेको भन्दै देश बनाउने मुख्य शक्ति नेपाली कांग्रेस भएको बताउनुभयो । नेपाली कांग्रेस सक्षम र एकताबद्ध हुन नसके लोकतन्त्र र देशकाे रक्षा गर्न नसकिने पनि उहाँले बताउनुभयो । 

वरिष्ठ नेता देउवाले भन्नुभयो, ‘आज लोकतन्त्र बचाएर देश बचाउने सवाल छ । त्यो बचाउने मूल शक्ति भनेको नेपाली कांग्रेस हाे । लोकतन्त्रको पहरेदार नेपाली कांग्रेस सक्षम हुन सकेन, सबल हुन सकेन, एकताबद्ध हुन सकेन भने यो लोकतन्त्र र देशकाे रक्षा गर्ने कुरा कमजोर पर्न जान्छ ।’ 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया