देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठकका लागि प्रदेश सभाहल निर्माणको काम सुरु

 जेठ १४, २०७८ शुक्रबार ६:४३:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरिएको निषेधाज्ञामा समेत सावधानी अपनाएर प्रदेश सभाहल निर्माणको काम भइरहेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिनुभयो । उहाँका अनुसार ५ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुविधा सम्पन्न प्रदेश सभाहल निर्माणको काम चलिरहेको छ ।

स्थानीय कामदारहरुले आवासीय रुपमा बसेर निर्माणको कामलाई निरन्तरता दिइरहेका अधिकृत मजगैयाँले जानकारी दिनुभयो । एक सय जना मानिस सजिलै अटाउन सक्ने सभाहल, सभामुखको लबी, स्टेज सबै यसैभित्र निर्माण गर्ने गरी काम भइरहेको छ ।

चालु आर्थिक वर्षभित्र प्रदेश सभाहल निर्माणको काम सक्ने लक्ष्य छ । तर, निषेधाज्ञाका कारण निर्धारित समयमा सभाहल निर्माणको काम सम्पन्न गर्न कठिनाइ हुने भएको छ ।‘असारसम्म सक्ने योजना हो । समय परिस्थितिअनुसार निर्धारित समयमा काम सुरु गर्न सकिएन’ मजगैयाँले भन्नुभयो-‘असोजसम्ममा सबै काम सकिन्छ की भन्ने लागेको छ ।’ सभाहल निर्माणको काम ड्राइगन बस्नेत जेभी निर्माण कम्पनीले गरिरहेको हो ।

नेपाल सरकारले लुम्बिनी प्रदेश सरकार मातहतमा राप्ती प्राविधिक शिक्षालय रहने निर्णय गरेपछि सभाहल निर्माणको काम सुरु भएको हाे । राप्ती प्राविधिक शिक्षालयभित्र रहेको सभाहल सानो भएपछि नयाँ सभाहल आवश्यक परेको हो ।

राजधानीको निर्णय टुङ्गिएपछि स्थायी राजधानी तोकिएको क्षेत्रमा राजधानीसँग जोडिएको गुरुयोजना निर्माणसँगै पूर्वाधार निर्माण कार्य सुरु भएको हो । 

मन्त्रालय स्थानान्तरणकाे काम सुरु

देउखुरीमा मन्त्रालय स्थानान्तरणकाे काम पनि सुरु भएकाे छ । ग्रामिण तथा सहरी विकास मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लागि राप्ती प्राविधिक शिक्षालयभित्र रहेको भवन खोज्न थालिएको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनुभयो ।

‘शिक्षालय बाहिरभन्दा पनि भित्र नै मन्त्रालय स्थापना गर्दा उपयुक्त हुने भएकाले भवन खोजी सुरु भएको हो’ उहाँले भन्नुभयो-‘मन्त्रालयको लागि भवनको बारेमा शिक्षालय प्रमुखसँग छलफल गरेका छौँ ।’ राजधानी व्यवस्थापन कार्यालयले राजधानीसँग जोडिएका विषयमा समन्वय र सहकार्यको काम गरिरहेको छ ।

चालु आर्थिक वर्ष सकिएलगत्तै देउखुरीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गर्ने योजना रहेको छ । अहिले अस्थायी राजधानी बुटवल मुकामको रुपमा रहेका मन्त्रालय, निर्देशनालय तथा अन्य कार्यालयहरु स्थायी राजधानीमा स्थानान्तरणको योजना छ ।

मुख्यमन्त्री शंकर पोख्रेलले राजधानी क्षेत्रमा महत्त्वपूर्ण मन्त्रालयको कार्यालय स्थापना गरेर काम गर्ने योजना बनाउनु भएको हो । राजधानीको निर्णय र कार्यान्वयनको लागि मुख्यमन्त्री पोख्रेलको प्रमुख भूमिका रहेको र नागरिक स्तरमा राजधानी कार्यान्वयनको अनुभूति हुनेगरी काम हुन थालेको पाइएको छ ।

अन्य निर्माण कार्य धमाधम चल्दै

लुम्बिनी प्रदेश स्थायी राजधानीको गुरुयोजना निर्माणको काम सुरु भएको छ । तीन ओटा कन्सल्ट्यान्सी गुरुयोजना निर्माणको लागि छानिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । ‘नमुना राजधानी निर्माणको गुरुयोजना एउटा आधार हुने छ’ मजगैयाँले भन्नुभयो-‘देशकै नमुना सहर बनाउने सङ्कल्प छ ।’

राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका १, २ र ३ वडा, शीतगङ्गा नगरपालिका अर्घाखाँचीको वडा नंं ८ र ९ लाई समेट्ने छ । प्रशासकीय केन्द्र, सहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै प्रकारको क्षेत्र तोक्ने र त्यहीअनुसार डिजाइन बनाइने छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया