मानसिक स्वास्थ्यका क्षेत्रमा छुट्टै फाँट बनाएर काम गर्नुपर्छ

 जेठ १६, २०७८ आइतबार १३:४४:८ | भीम न्याैपाने
unn.prixa.net

कोभिड-१९ का कारण होस् या अन्य विभिन्न कारणले नागरिकमा मानसिक स्वास्थ्य समस्या देखिन्छ। मानसिक समस्या भएकाहरुसँग काम गर्दै जाँदा पनौती नगरपालिकामा मानसिक स्वास्थ्य समस्याका तीन, चारवटा कारण देखेका छौँ । अलि पाका मान्छेमा १० वर्षे जनयुद्धका कारण पनि यो समस्या देखापरेको छ ।

यस्तै २०७२ सालमा गएको भुइँचालोले पनि यहाँका धेरैजसो नागरिकलाई यो समस्या देखियो । हिजोआज देखिएको मानसिक स्वास्थ्य समस्याको कारण भने प्रायः घरभित्रैको आन्तरिक किचलो बढी पाइन्छ । अब कुरा आउँछ यस्तो समस्या भएकाहरुको लागि पालिकाले के गरिरहेको छ त भन्ने।

यसका लागि पालिकाले पनौती स्वास्थ्य चौकी र कुशादेवी स्वास्थ्य चौकीमा दुई दिन डाक्टर ल्याएर ओपीडी सेवा दिइरहेको छ । ओपीडीमा जाँच गराइ औषधि खानुपर्नेलाई औषधि दिने र औषधि खान नपर्नेलाई मनोपरामर्शदाता कहाँ जान सल्लाह दिन्छौँ । उपचारपछि औषधि खानुपर्ने मानसिक समस्या भएकाहरुलाई चाहिने एक महिनाको औषधि नगरपालिकाले दिने गरेको छ ।

यो समस्या भोगिरहेकाहरुको पारिवारिक अवस्था कस्तो छ, सामाजिक रुपले उहाँहरु कसरी बसिरहनुभएको छ भन्ने विषयमा सहजीकरण गर्ने कुरा पनि हामीले गरेका छौँ । यो कार्य एक/दुई वर्ष पहिलेदेखि गर्दै आएको भए पनि विगत ६ महिनादेखि निरन्तर गर्दै आएका छौँ । 

पनौती नगरपालिकामा १२ वटा वडा छन् । ती सबै वडाका मानसिक स्वास्थ्य समस्या भएकाहरुको सूची हामीसँग छ । त्यहीअनुसार उपचारको लागि कुन दिन डाक्टर आउने भन्ने कुरा स्वास्थ्यले टुङ्गो लगाएको हुन्छ । त्यही आधारमा उहाँहरुलाई खबर गर्छौँ र उहाँहरु आफूलाई पायक पर्ने ठाउँमा आएर उपचार गर्नुहुन्छ ।

 यो कार्यमा हाम्रो हरेक वडामा रहेका वडाध्यक्ष लगायत अन्य जनप्रतिनिधिले आफ्नो टोल, छिमेकमा यस्तो समस्या भएका कोही भएमा उहाँहरुले  स्वास्थ्य केन्द्रसम्म पुग्ने बाटो देखाउनुहुन्छ  । 

सामाजिक समस्या

मानसिक स्वास्थ्य समस्या भएका धेरैजसो खुलेर नआउने समस्या छ । किनकि आफ्नो समस्या भनेर बाहिर आउँदा उहाँहरुले समाजबाटै दुर्व्यवहार सहनुपर्छ । यो समस्या भएकाहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक छ । यस्तो समस्या भएकाहरुलाई सामूहिक कार्यमा नबोलाउने, यो त दिमाग नभएकोे मान्छे हो भन्ने, पागल भन्दै हेप्ने लगायतका विभिन्न सामाजिक लान्छनाले उहाँहरुलाई खुलेर आउन समस्या छ । यसको लागि सबैभन्दा पहिले समुदायलाई सचेत गराउन आवश्यक छ । अब हामी यो विषयमा पनि काम गर्नेछौँ । 

हामीले बनेपा अस्पतालको समन्वयमा मानसिक स्वास्थ्यबारे जनचेतनामूलक कार्यक्रम गर्ने योजना थियो । योजना अनुसार कार्यतालिका पनि तयार गरेका छौँ । तर, अहिले कोरोनाको कारण हामीले काम सुरु गर्न सकेका छैनौँ । 

स्वरोजगारको लागि पहल

यो समस्या धेरैबेर रहँदैन । नियमित औषधि खाएपछि उहाँहरुलाई ठिक हुन्छ । यसका लागि नगरपालिकामा रहेको स्वास्थ्यशाखाले पनि नियमित फलोअप गर्छ  । त्यसपछि उहाँले सामान्यरुपमा के काम गर्न चाहनुहुन्छ, उहाँहरुको प्रस्तावनाको आधारमा स्थानीय सहकारीको सहयोगमा नगरपालिकाका लगानीमा उहाँले चाहेको काम गर्न हामीले सहयोग गरिरहेका छौँ । अहिलेसम्म हामीले चार जनालाई यस्तो सहयोग गरिसकेका छौँ । 

हामीले सहयोग गर्ने भनेको स्वरोजगार बनेर आत्मनिर्भर बनाउनका लागि हो । पालिकाले सहयोग गरेका चारजनाले कृषि र पशुपालनको क्षेत्रमा काम गरिरहनुभएको छ । कसैले बेमौसमी तरकारी गरिरहनुभएको छ भने, कसैले भैँसीपालन, कुखुरापालन गरिरहनुभएको छ । हामीले भैँसीपाल्नेलाई पाडाको व्यवस्थापन, कुखुरा पाल्न चाहनेको लागि कुखुरा वितरण गरेका छौँ । यस्तै तरकारीखेती गर्नेहरुलाई तरकारीको बेर्ना दिने गरेका छौँ । 

पालिकाको अबको योजना

अहिलेसम्म जति हामीले गर्नुपर्ने हो, त्यति काम यो क्षेत्रमा गर्न सकेका छैनौँ । मानसिक समस्या भएका व्यक्तिहरुसँग नजिकबाट काम गर्न थालेपछि हामीलाई पनि महसुस भएको छ कि अब मानसिक स्वास्थ्यका विषयमा पनि छुट्टै  फाँट बनाएर काम गर्नुपर्छ । 

अब पालिकाले मानसिक स्वास्थ्यबारे मनोपरामर्शदाताको दरबन्दी राखेर नै यो सेवाअघि बढाउने भन्ने सोच बनाएका छौँ ।  अबको हाम्रो योजना के छ भने निश्चित रकम त्यहाँ राखेर नयाँ खालको कोष नै खडा गरी नीति बनाएर हिँड्नुपर्छ भन्ने लागेको छ । सबैभन्दा आवश्यक पर्ने बजेट हो । २० लाख रुपैयाँ छुट्याएर काम गरिरहेका छौँ, यो थोरै रकम हो ।

सङ्घसंस्थासँग समन्वय

​मानसिक स्वास्थ्यका विषयमा हामीले विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर पनि काम गरिरहेका छौँ । अहिले हाम्रो पालिकामा कोशिस संस्थाले मानसिक स्वास्थ्यका विषयमा काम गर्दै आएको छ । हामीले पनि त्यो संस्थासँग सहकार्य गरेका छौँ । अब यो कामलाई निरन्तर रुपमा गर्ने योजनामा छाैँ। 

अहिले दुई ठाउँमा सञ्चालन भएको सेवा तीन ठाउँबाट दिने तयारीमा लागेका छौँ ।  किनकी, यो नगरपालिका ठूलो छ । यहाँको भूगोललाई हेर्दा अहिले हामीले दुई ठाउँबाट यो सेवा दिइरहँदा कतिपय ठाउँका नागरिकलाई त्यहाँ पुग्न समस्या भइरहेको छ ।   

यस्तो समस्या भएकाहरुलाई हामीले उत्साहित गर्नुपर्छ । औषधि पनि खुवाउनुपर्छ । उहाँहरु स-साना कुरामा पनि पीर लिने चिन्ता लिने गर्नुहुन्छ । यस्ता सबै समस्या समाधान गर्दै उहाँहरुको चाहनाअनुसार काम गर्ने सोचमा छौँ ।

( न्यौपाने काभ्रेको पनौती नगरपालिकाका प्रमुख हुनुहुन्छ ।)

अन्तिम अपडेट: बैशाख ६, २०८१

भीम न्याैपाने

न्यौपाने काभ्रेको पनौती नगरपालिकाका प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया