घरेलु बजेटमा गनगन : भोक लाग्यो नभन !

 जेठ १५, २०७८ शनिबार ९:२३:४७ | मिलन तिमिल्सिना
unn.prixa.net

नाम चाहिँ गणतन्त्र, तर सधैंको गनगन, सबैको गनगन ! अथवा गणतन्त्र होइन गनगन तन्त्र ! सत्तामा ढलिमली गर्नेको पनि गनगन । सत्ता नपाएर छटपटी भएकाहरुको पनि गनगन । कुर्सीमा गनगन । संविधानमा गनगन । संविधानको व्याख्या गर्नेको उस्तै गनगन । आफूलाई विज्ञ र जान्नेसुन्ने ठान्नेहरुको पनि गनगन । गनगनतन्त्र स्थापना भएको दिनमै ल्याउनुपर्ने बजेटमा पनि गनगन ।

 देश चलाउने बजेटमा त गनगन मात्रै गरेर पनि पुग्ला । तर घर चलाउने बजेटमा त गनगन गरेर मात्रै पुग्दैन । त्यसैले गनगनतन्त्र स्थापना भएको दिनमै घरमुली पोहोरकै बजेटमा थोरै केरमेर गरेर गनगन गर्न थाले । 

परिवारका प्यारा सदस्यहरु, 

कोरोनाले घरीघरी रुन परेको र निषेधाज्ञाले कमाइमा प्वाल पारेकाले घर चलाउन त्राही त्राही भएको कुरा त यहाँहरु सबैलाई पत्तो छँदैछ । जहान परिवारलाई भन्दा कोरोनालाई नै बढी ध्यान दिनुपर्ने भएकाले पोहोरजस्तै यस वर्ष पनि आफ्नै घरको बजेटमा व्यापक कटौती गर्न अबेला भइसकेको छ । आकाशमा जेट नदेखिने बेला घरमा बजेट देखिने कुरो पनि भएन । त्यसैले अब म आउँदो आर्थिक वर्षको लागि विभिन्न शीर्षकमा आकर्षक नारासहित नदेखिने बजेट प्रस्तुत गर्न गइरहेको छु ।

खानाखाजामा कटौती : समृद्धिमा बढोत्तरी

सबैका मुखले आँ गरिरहे पनि आम्दानीको मुख बन्द छ । यसैबेला खाद्यान्न पसलको सटर पनि बन्द भएकाले खानाखाजामा खर्च हुने बजेटलाई पोहोरजस्तै यसपालि पनि व्यापक कटौती गरिएको छ । भोक लाग्नेबित्तिकै खाइहाल्ने अहिलेसम्मको बानीलाई नियन्त्रण गरिनेछ । खाद्यान्न पसलसमेत बन्द गर्ने सरकारको निर्णयलाई समर्थन गर्दै पैसा खर्च हुने अरु ठाउँ पनि सधैंका लागि बन्द गर्न सरकारसँग आग्रह गरिनेछ । दिउँसोको खाजालाई पूर्णरुपमा कटौती मात्र गरेर नपुग्ने देखेर खारेज नै गरिएको छ ।

बिहान र बेलुकाको भात तिउनको मात्रा केही कटौती गरिएको छ । समृद्ध नेपालमा खान नपाएर कोही मर्नु पर्दैन भन्ने नारालाई सार्थक तुल्याउन परिवारमा कसैलाई भोकै लाग्न नदिने र लागे देखाउन नपाइने रणनीति कडाइका साथ लागू गरिनेछ ।

अहिले टन्न खाएर मोटाउने र पछि व्यायाम गरी ज्यान घटाउने रणनीति घातक सावित भइसकेको छ । त्यसैले, अबका केही दिनदेखि सकेसम्म आधी पेट खाने, वायुविकारले आधा पेट खान नसके त्यसको पनि आधा पेट खाने, हप्तामा केही दिन अनिवार्य उपवास बस्ने बानीलाई प्रोत्साहन गरिनेछ । भरी पेट खान माग गर्नेलाई गाउँमा बाँझो जमिन खन्न पठाइनेछ । आफूलाई खान पुग्ने आफैँ फलाउन बाध्य पारिनेछ । 

पुरुष होस् या स्त्री : थोत्रो लुगामा इस्तिरी

​पोहोर दशैँमा पनि लुगा किन्न पाइएन, यसपालि त जसरी पनि चाहिन्छ भन्ने परिवारका सदस्यको गनगन पूर्णरुपमा खारेज गरिनेछ । पोहोरजस्तै यसपालि पनि तीज, दशैँ, तिहार र अरु बेला आक्कलझुक्कल लुगा किन्ने प्रवृत्तिलाई आउँदो वर्ष पूर्णरुपमा बन्देज गरिनेछ । घरबाहिर त्यति निस्कन नपरेकाले एकजोर लुगाले धानिरहेको र बाँकी लुगा लगाउनै बाँकी भएकाले ती बाँकी लुगालाई धोइ पखाली नयाँ बनाइनेछ । नयाँ लुगाको झल्को दिन आवश्यकता अनुसार स्टिकर टाँस्न र आइरन लगाउन सकिनेछ । यसरी पुराना लुगालाई धोइ पखाली प्रयोग गर्नेलाई एक छाक खाजा उपहारसमेत दिइनेछ ।

शिक्षामा नयाँ नारा : ‘हात्ती पढेर ठूलो भएको हो र !’

पोहोरजस्तै यसपालि पनि स्कुल बन्द भएकाले केटाकेटीलाई ड्रेस र कापीकलमको खर्च जोगिएको छ । अनलाइन पढाएजस्तो गर्ने शिक्षकका लागि केही पैसा छुट्याउन परे पनि स्कुल खुल्दा हुने सबै खर्च जोगिएकामा कोरोनाप्रति आभार व्यक्त गरिएको छ ।

स्कुल जान नपरेपछि अहिलेसम्म मोबाइल र टेलिभिजनमा भुलिरहेका केटाकेटीले समेत बिस्तारै खेतीपातीको काम सिक्नेछन् । यसैबाट आत्मनिर्भर हुने अपेक्षा गरिएको छ । ‘पढेर पो के हुन्छ र’ र ‘हात्ती पढेर ठूलो भएको हो र’ भन्ने मान्यतालाई यथार्थमै बदल्न सकभर प्रयास गरिनेछ । आउँदो वर्ष एउटा सिसाकलम र एउटा कापीको लागि मात्र निश्चित बजेट छुट्याइएको छ ।

सबै रोगलाई कोरोनामा परिणत 

सरकारको ध्यान कोरोनामा मात्र केन्द्रित भएको अवस्थालाई मध्यनजर गर्दै रुघाखोकी, ज्वरो, झाडापखालाजस्ता मौसमी बिमारदेखि ग्यास्टिक, प्रेसर, सुगर जस्ता सबै राष्ट्रिय रोगलाई कोरोनामा परिणत गरिनेछ । कोरोना लाग्यो भने सरकारले हेर्छ, अरु रोग लाग्यो भने हेर्दैन । कोरोना लाग्दा बेड र अक्सिजन नपाएर मरियो भने पनि चर्चा हुन्छ । अरु रोग लागेर मर्नुपर्दा गुमनाम होइन्छ । त्यसैले अरु रोग लाग्दा पनि कोरोना नै हो भनेर पुष्टि गरिनेछ । स्वास्थ्यको लागि बजेट अपुग हुने भएकाले सकेसम्म रोगै लाग्न नदिने, कथंकदाचित् लागिहाले कोरोना नै हो भनेर पुष्टि गर्ने नीति लिइनेछ । 

पेट्रोल खर्च खुट्टा मालिस गर्ने तेलमा

सार्वजनिक गाडी चल्ने ठेगान अझै नभएकाले गाडी भाडावापतको रकम कटौती गरिएको छ । घरमा थन्काएर राखेको मोटरसाइकल र साइकल बेच्ने तथा पैदल हिँडेर स्वास्थ्य लाभ लिने बानीलाई प्रोत्साहन गरिनेछ । पैदल हिँड्दा खुट्टा दुख्ने भएकाले पेट्रोलमा लाग्ने खर्च मालिस गर्ने तेलमा छुट्याइनेछ ।

कोरोनालाई प्रार्थना : दशैँतिहार नहोस् भन्ने कामना

यसपालि पनि तीज, दशैँ, तिहार र छठसम्मै कोरोनाको डर कायमै रहोस् भन्ने कामना छ । कामना पूरा भएन भने, सबै सदस्यलाई चाडपर्व मनाउन नपर्ने यथासमय जानकारी गराइनेछ । व्रतबन्ध गर्ने उमेर पुगेका केटाहरुलाई एकैपटक बिहे गराउने र बिहे गर्ने उमेर भएकालाई आफूखुशी सुटुक्क भाग्न प्रोत्साहन गरिएको छ । भागी विवाहलाई उच्च महत्त्व दिइनेछ, मागी विवाहका हकमा होमा हो मिलाउने गरी टाउको हल्लाइनेछ । जन्ती जाने, भोज खाने सबै विधि हटाइएको छ । छोराछोरीको लभ परेको थाहा पाए पनि अब गाली गरिनेछैन । सुटुक्क भागे वा भगाएर ल्याए स्वागत गरिनेछ । “लभ गर, माया गर तर खर्च नगर” भन्ने नारालाई साकार पार्ने हरेक युवालाई प्रोत्साहन गरिएको छ ।

घरमै गाउँ, घरमै नाच !

सिनेमाघर लगायतका सबै मनोरञ्जनस्थल सधैंका लागि बन्द होउन् भन्ने कामना गरिएको छ । कामना पूरा नभै खुलेमा पनि आउँदो वर्ष घरका सबै सदस्यलाई सिनेमा घर लगायतका मनोरञ्जनस्थल जान प्रतिबन्ध लगाइएको छ ।मनोरञ्जन गर्न मन हुनेबित्तिकै घरमा सबैको भेला गराएर अन्ताक्षरी, दोहोरी, नाचगान, चुट्किला लगायतका कार्यक्रम गरिनेछ । पिकनिक र घुमफिरमा पूर्ण रोक लगाइएको छ । वर्षमा एक, दुईपटक मासु खान सकियो भने त्यसैलाई पिकनिक मानिनेछ । अहिलेसम्म पाइला नराखेको आफ्नै खेतबारीसम्म जाने कामलाई घुमफिर भनिनेछ । फोकटमा हुने सबै किसिमका पकेट खर्चमा पूर्ण कटौती गरिएको छ ।

घरघरमा कपाल काट्ने जनशक्ति उत्पादन

निषेधाज्ञा खुले पनि सैलुन र ब्युटीपार्लर जान लागेको प्रतिबन्ध हटाइने छैन । पोहोरको लकडाउन र अहिलेको निषेधाज्ञाको ठूलो उपलब्धि घरघरमै कपाल काट्ने सीप भएको जनशक्ति उत्पादन हुनु हो । यस जनशक्तिलाई जीवनभर कपाल काट्न प्रेरित गरिनेछ ।

ब्युटीपार्लर नजाँदा पनि ब्युटी नै छु भन्ने भ्रम र भावना उत्पन्न गराउने विज्ञापनहरु बनाउने युवायुवतीको भर्चुअल सीप तिखारिनेछ । यसबाट देशले निर्यात गर्न सक्ने भ्रमित सुन्दरीहरुको सङ्ख्या र सुन्दरताको भ्रम पैदा गर्न सक्ने दक्ष भर्चुअल जनशक्ति एकसाथ तयार भइ अर्को वर्ष सोधनान्तर घाटा पूरा हुनेछ भन्ने विश्वास गरिएको छ । 

अन्त्यमा, यति धेरै प्रयास गर्दा गर्दै पनि न्यूनतम आवश्यकता पूरा नभए छरछिमेकीसँग ऋण सापट गरी अपुग रकम परिपूर्तिको प्रयत्न गरिनेछ । छरछिमेकीको हालत पनि आफ्नो जस्तै भएकाले कसैगरी पनि ऋण पाउन सकिएन र कोरोनालाई छल्न सकेर हलचल गर्न र चल्न चटपटाउन नसक्ने अवस्था आयो भने नारी उठाएर जुलुस निकाल्ने अन्तिम अधिकारको प्रयोग गरिनेछ । 

अन्तिम अपडेट: चैत २९, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया