‘डाक्टर, नर्स र सबै स्वास्थ्यकर्मीको सम्मान गराैँ’

 जेठ १६, २०७८ आइतबार १०:७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना महामारीको यो बेला डाक्टर, नर्स र स्वास्थ्यकर्मी जोखिम मोलेर बिरामीको उपचारमा व्यस्त छन् । सङ्क्रमितको उपचारमा दिनरात खटिएका उनीहरुको हौसला र मनोबल बढाउनुपर्ने खाँचो छ । तर बिहीवार बेलुकी नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्समाथि आक्रमण भयो । यो घटनाको चौतर्फी आलोचना भइरहेको छ । आक्रमणमा संलग्नलाई कारबाही गर्ने र भविष्यमा यस्तो घटना नदोहोरिने सरकारले प्रतिबद्धता जनाएको छ ।

यसै विषयमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालको विचार र प्रतिक्रिया समेटेका छौँ।

सबैभन्दा पहिले कलाकार मदनकृष्ण श्रेष्ठ :

कसैलाई कोरोना नलागोस् । लागे पनि छिटो निको होस् । म पनि कोरोनाबाट ग्रस्त छु, अस्पतालबाट भर्खरै डिस्चार्ज भएर घर फर्केर आराम गरिरहेको छु । सबै ठिकै छ । हिजोभन्दा आज, आजभन्दा भोलि ठिक भइरहेको छ, तर सुस्त गतिमा । 

यो कोरोना महामारीमा डाक्टर र नर्सहरुलाई धेरै गाह्रो छ । एक त आफूलाई कोरोना सर्ला भन्ने चिन्ता। अर्कोतिर डाक्टरहरु दिनरात नभनी खटिरहेका छन् । १२ घण्टे ड्युटीमा उनीहरु खाना नखाएरै पनि सेवा गरिरहेका छन् । यस्तो जोखिम मोलेर सेवा दिइरहेको अवस्थामा डाक्टरहरुमाथि कुटपिट भएको सुन्दा मलाई खिन्न लाग्छ । 

काम गर्दै गर्दा मान्छेले देख्दैन, खाली आफ्नो नोक्सानीमा मात्रै ध्यान दिन्छ । कुट्ने झगडा गर्ने भनेको अज्ञानता हो जस्तो लाग्छ मलाई । कोरोनाको डरमा खटिइरहेका स्वास्थ्यकर्मीमा अब झन स्वास्थ्य सुरक्षाको डर थपियो । यस्तो बेलामा उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ । भगवानले गर्ने काम गरिरहेका छन् भनेर सम्मान गर्नुपर्छ, कुटपिट र दुर्व्यवहार गर्नु हुँदैन ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारबाही गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । साथै सबै स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न सरकारको आग्रह छ ।

यसैबारे गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालको भनाइ :

अहिलेको समयमा डाक्टर भनेका भगवान हुन्, उनीहरुलाई हामीले आदर सम्मान गर्नुपर्छ । अर्को कुरा अहिलेको यो महामारीले कसैलाई ठूलो सानो भन्दैन । त्यस कारणले गर्दा यसलाई व्यवस्थापन गर्ने कुरा ठूलो चुनौतीको विषय बनेको छ । त्यसबीचमा डाक्टर, नर्सहरुले जसरी काम गरिरहनुभएको उहाँहरुलाई सम्मान गर्नुपर्ने अवस्थामा केही ठाउँमा उनीहरुमाथि हातपात र दुर्व्यवहार भयो भन्ने सुनियो । त्यसपछि हामीले ७७ वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ, त्यस्ता हर्कत गर्ने व्यक्तिलाई हदैसम्मको कानुनी कारबाही गर्ने स्पष्ट निर्देशन दिएका छौँ । र त्यस्ता दुर्व्यवहार गर्ने व्यक्तिलाई कारबाही गर्नु पनि पर्छ । 

नेपालगञ्जको घटनाको विषयमा पनि हामीले कानुन बमोजिम कारबाही गर्छौँ । हामीले दुर्व्यवहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइसकेका छौँ । डाक्टरको धर्म बिरामीलाई बचाउने हो । कुनै पनि बिरामीलाई निको पारेर पठाउनुभयो भने उहाँहरु आफैँलाई पनि आत्मसन्तुष्टि प्राप्त हुन्छ । त्यसरी निष्पक्ष भएर ज्यान बचाउन लाग्नुभएका डाक्टर र नर्समाथि दुर्व्यवहार गरियो, यो एकदमै कानुनी कारबाहीमा पर्नुपर्ने विषय हो । दुर्व्यवहार गर्ने व्यक्तिहरुलाई कुनै पनि हालतमा कारबाही हुन्छ । र हामीले विज्ञप्तिमार्फत अनुरोध पनि गरेका छौँ । 

अहिलेको अवस्थामा डाक्टरहरुले कुनै लापरबाही नगरि दिनरात उपचारमा खटिनुभएको छ । र यस्ता सम्माननीय डाक्टर नर्सहरुलाई जसले, दुर्व्यवहार गर्छ ती व्यक्तिलाई कारबाही गर्नैपर्छ र हुन्छ । कोभिडसम्बन्धी अध्यादेशमा पनि स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने, लकडाउनको अवज्ञा, अवरोध गर्नेलाई कारबाहीको व्यवस्था गरिएको छ । अब हामी निर्मम रुपमा प्रस्तुत हुने बेला आएको छ । 

डाक्टर, नर्स र सबै स्वास्थ्यकर्मीलाई हामी आग्रह गर्छौँ, यस्ता घटनाबाट विचलित नभइ आफ्नो पेसागत मर्यादामा रहेर काम गर्नुहुन्छ । सरकार सबै स्वास्थ्यकर्मीको सुरक्षामा प्रतिबद्ध रहेको छ ।

आजकाे काेराेना क्याप्सुल सुन्न यहाँ क्लिक गर्नुहाेस् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया