चीनले अनुदानमा दिने सबै खोप मङ्गलवार नआउने, २ लाख केही दिनभित्रै

 जेठ १७, २०७८ सोमबार १४:७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको १० लाख डोज खोपमध्ये सबै खोप मङ्गलवार नआउने भएको छ । १० लाख डोज खाेपमध्ये मङ्गलवार (भोलि) आठ लाख डोज खाेप मात्रै नेपाल आइपुग्ने  नेपाल एअरलाइन्सले जनाएको छ ।

खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ । आज राति साढे ११ बजे बेइजिङका लागि उड्ने जहाज भोलि दिउँसो साढे २ बजे नेपाल आइपुग्ने तालिका रहेको छ ।

नेपाल वायु सेवा निगमका अप्रेशन विभाग प्रमुख दिपु जुहार्चनले आठ लाख डोज खोप ल्याउन जहाज बेइजिङ जाने बताउनुभयो । तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भने १० लाख डोज विभिन्न चरणमा आउने जानकारी पाएको र आठ लाख डोज भोलि नै आइपुग्नेबारे आफूलाई जानकारी नआएको बताउनुभयो । उहाँँले यसअघि तीन/तीन लाख डोजका दरले खाेप ल्याउने छलफल भए पनि पछिल्लो अपडेट थाहा नभएको बताउनुभयो ।

चीनले दिने १० लाख डोज खाेपमध्ये बाँकी दुई लाख हिमालय एअरलाइन्समार्फत ल्याउने तयारी छ । तर हिमालय एअरलाइन्सले अहिलेसम्म उडानको मिति टुङ्गो नलागेको जानकारी दिएको छ ।

यसअघि सरकारले १० लाख डोज खोप एकै खेपमा ल्याउने जानकारी दिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गर्नुभएको थियो । राष्ट्रपतिको आग्रहलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सीले तत्कालै १० लाख डोज खोप अनुदानमा दिने र नेपालले खरिद गर्ने खोपका लागि पनि सहजीकरण गर्ने बताउनुभएको थियो ।

नेपालले चीनमा उत्पादित भेरोसेल खोपलाई प्रयोगको अनुमति दिएको छ । यसअघि चीनले दिएको आठ लाख डोज खोप प्रयोगमा आइसकेको छ । सरकारले अनुदानबाहेक भेरोसेल खोप खरिदका लागि पनि कुटनीतिक पहल गरिरहेको छ ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया