कोरोनाका भेरियन्टलाई नामाकरण गर्ने डब्ल्यूएचओको घोषणा

 जेठ १८, २०७८ मंगलबार १२:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसका नयाँनयाँ प्रकार निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भाइरसको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने भएको छ ।

बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको डब्ल्यूएचओले जनाएको छ । चर्चा परिचर्चालाई सहज बनाउन तथा नामसँग जोडिएर आउने धब्बा हटाउनका लागि नयाँ नामकरण प्रणालीको व्यवस्था गरिएको डब्ल्यूएचओले जनाएको छ ।

कोरोना भाइरसको भेरियन्ट पहिलोपटक पत्ता लागेको वा त्यसबारे जानकारी गराएकै आधारमा कुनै पनि देशलाई धब्बा लगाउन नहुने डब्ल्यूएचओको कोभिड–१९ प्राविधिक समितिकी मारिया भान कर्खोभले बताउनु भएको छ । उहाँले भेरियन्टमाथिको अनुगमन बढाउनु पर्ने र सङ्क्रमण रोक्नका लागि वैज्ञानिक तथ्यहरु साझा गरिनु पर्ने पनि बताउनु भएको छ ।

भेरियन्टका नामहरुको पूर्णसूची डब्ल्यूएचओले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यदि २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ । भारतमा देखिएको डेल्टा भेरियन्ट बेलायतमा देखिएको भेरियन्टभन्दा चाँडो फैलने पाइएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया