‘नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन र संविधान हुनुपर्छ’ : उप-प्रधानमन्त्री महताे

 जेठ २२, २०७८ शनिबार १९:१५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उप-प्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

शनिबार जनता समाजवादी पार्टीको कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल,पहाड, तराईँ र मधेशको जनताको सहभागिता हुनुपर्ने बताउनुभएको हो । बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उहाँले बताउनुभयो ।

‘नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण छत्तिस जातको फूलबारी भनेको विविधता हो । बहुलता भनेको त्यही हो र नेपाल बहुल राष्ट्रिय राज्य हो' उहाँले भन्नुभयो, 'त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ र यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छ ।'

उहाँले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानको निम्ति जसपाले मिसन चलाउने उहाँकाे भनाइ छ । देशका सबैकुरा ठिकठाक नभएको भन्दै उहाँले नियम, कानुन, संविधान र शासनमा भएको कमिकमजोरीलाई संशोधन र सुधार गर्दैै जानुपर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया