काङ्ग्रेस महासमिति बैठक मङ्सिरमा

 भदौ १०, २०७५ आइतबार ६:५६:१८ | रासस
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । 

बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य रहने गरी महासमिति बैठकको मूल तयारी समितिसमेत गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

महासमिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार गर्न उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति गठन गरिएको छ । 

महासमिति बैठकमा साङ्गठनिक प्रतिवेदन महामन्त्री डा शशांक कोइरालाले र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्नुहुनेछ । त्यस्तै पार्टीको समग्र आर्थिक नीति मस्यौदा समिति सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठन गरिएको छ । 

विधान संशोधन मस्यौदा समितिमा जिल्ला सभापतिको हेटौँडामा सम्पन्न राष्ट्रिय भेलाको प्रस्तावअनुसार जिल्ला पार्टी सभापति मध्येबाट स्थायी आमन्त्रितका रुपमा दुई जना सदस्य थप गर्ने बैठकले निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो । 

बैठकले काठमाडौँ जिल्ला कार्यसमिति काङ्ग्रेसका सभापतिको संयोजकत्वमा ललितपुर र भक्तपुरका सभापति सदस्य रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । बैठकले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको गहन छानबिन गरी अपराधीमाथि तत्काल कारबाहीको माग गरेको छ । 

बैठकले उक्त घटनाका सम्बन्धमा कञ्चनपुरमा भएको विरोधसभामा प्रहरीको गोलीबाट निधन हुनुभएका निर्दोष बालक सन्नी खुनाको परिवारलाई राहत तथा क्षतिपूर्तिको माग गरेको छ । बैठकले सबै घाइतेको सम्पूर्ण उपचारका लागि सरकारलाई आग्रह गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

बैठकले कञ्चनपुर घटनाको यथार्थबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्यद्वय दीलेन्द्रप्रसाद बडू र वीरबहादुर बलायर रहुन भएको टोली यही भदौ १० गते कञ्चनपुर पुग्ने गरी पठाउने निर्णय गरेको छ । 

काङ्ग्रेसले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनका केही प्रावधानले खास गरी प्रेस स्वतन्त्रतामा असर पुग्ने, चिकित्सकको मर्यादामा आँच पुग्ने र प्रहरी अनुसन्धानलाई असर पु¥याउन सक्ने निष्कर्ष निकाल्दै संशोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । 

बैठकले सङ्घीय, प्रदेश तथा स्थानीय तहमा हचुवा ढङ्गले कर बढाइएको घटनाले सर्वसाधारणको जनजीवन आक्रान्त हुनुका साथै लगानीकर्ता तथा उद्यमशील वर्गलाई यसले निरुत्साहित गर्ने ठहर गरेको छ । साथै पार्टीले तीनै तहका सरकारलाई करको दर बढाउने एवं दोहोरो–तेहोरो करमार्फत जनतालाई थप आर्थिक बोझ सिर्जना नगर्न सचेत गराएको छ । 

समयमै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन नगर्नुको परिणाममा पनि करका विषयमा जटिलता उत्पन्न भएको ठहर काङ्ग्रेसले गरेको छ । मित्रराष्ट्र पाकिस्तानमा नयाँ प्रधानमन्त्रीका रुपमा पूर्वक्रिकेटर इमरान खान निर्वाचित हुनुभएकामा काङ्ग्रेस बैठकले बधाई ज्ञापन गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक यही २१ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया