रुकुम पश्चिमको बुरालमष्ट मन्दिरबाट तीन लाख रुपैयाँसहित सुन, चाँदी र विदेशी सिक्का चाेरी

 जेठ २४, २०७८ सोमबार १५:३४:२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमकाे बाँफीकोट गाउँपालिका ५ मा रहेको बुरालमष्ट मन्दिरमा चोरी भएको छ । आइतवार राती मन्दिरबाट नगद, सुनचाँदी, स्वदेशी र विदेशी सिक्का चोरी भएको बुढुमष्ट क्षेत्र विकास कोष बाँफीकोटका अध्यक्ष ध्रुवराज केसीले जानकारी दिनुभयो । 

‘मन्दिरको उत्तरतर्फ रहेको फलामे ढोकाको ग्रिलको कब्जा तोडेर भित्र पसी मन्दिरमा रहेको नगद, सुनचाँदी लगायतका धनदौलत चोरी भएको छ’, अध्यक्ष केसीले भन्नुभयो, ‘नियमित साँझ र बिहान धूपबत्ती पाठपूजा हुने मन्दिरमा बिहान धूपबत्ती गर्न आउने पुजारीले चोरी भएको थाहा पाएर खबर गरेका थिए ।’ 

मन्दिरमा रहेको काठको दराज फोडेर भित्र राखिएका र मन्दिरको गाडी नजिक राखिएका तीन लाख पाँच सय चालीस रुपैयाँ, दुई तोला सुन, चार तोला चाँदी, एक पाथी रु. १, २ र ५ का झन्डै पाँच हजार रुपैयाँ बराबरका नेपाली सिक्का, विभिन्न देशका ६५ थान विदेशी मुद्रा चोरी भएको कोषका अध्यक्ष केसीले जनाउनुभयो ।

सोमवार स्थानीय जनप्रतिनिधि तथा इलाका प्रहरी कार्यालय बाँफीकोटको टोली मन्दिर पुगेर चोरी कार्यको छानबिन सुरु गरेको जनाएको छ । चोरी कार्यमा संलग्न व्यक्ति फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया