सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन

 जेठ २५, २०७८ मंगलबार ६:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मतदानका लागि सांसदहरुहलाई ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलका नेता र सचेतकलाई निर्देशन दिएको छ । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री  त्रिलोचन भट्टले आज लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको हो ।

प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले दलका नेता प्रकाशबहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पत्र लेखेर पार्टीको स्थायी कमिटीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न निर्देशन दिनुभएको छ । जेठ १० गते  बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलको जेठ १२ गते बसेको बैठकले तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

स्थायी कमिटीको निर्णयको अवज्ञा गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोध्नुभएको थियो । शाहले ओलीलाई स्पष्टीकरणको जवाफ पेस गरिसक्नुभएको छ । बिहान ९ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनुहुने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले बताउनुभयो । ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ ।

अहिले प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।  एमालेका २४ मतदातामध्ये कारबाहीमा परेका  १५ र संस्थापन पक्षमा नौ सदस्य छन् ।

पूर्वनेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे  विश्वास प्राप्त गर्नुहुनेछ । कांग्रेसले अहिलेसम्म पक्षविपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन । कांग्रेसले आज बिहान ७ बजे बैठक बसेर निर्णय गर्ने संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिनुभयो । जसपाका दुवै सांसद महन्थ ठाकुर पक्षका हुन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया