काेराेना संक्रमण घटेसँगै डेढ महिनापछि खुले दाङका बजार

 जेठ २६, २०७८ बुधबार ८:२७:९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – करिब डेढ महिना बन्द दाङका बजार आज बुधबारदेखि आंशिक रूपमा  खुलेका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दाङको बैठकले यसअघिका निर्णयलाई केही परिमार्जन गर्दै निषेधाज्ञालाई असार १ गतेसम्म निरन्तरता दिने तर बिहान ६ बजेदेखि १० बजेसम्म बजार खोल्ने निर्णय  गरेको हो ।

निषेधाज्ञाका कारण गएकाे बैशाख १७ गतेदेखि यहाँका बजार बन्द थिए । बैठकको निर्णय अनुसार होटेल, रेस्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेक अरु सबै पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुलेका छन् । प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई दैनिक बिहान १० बजेदेखि २ बजेसम्म खुल्न दिने निर्णय गरेको छ ।

दाङमा कुनै बेला ह्वात्तै बढेको कोरोना संक्रमण पछिल्लो समय घट्दै गएको छ । कोरोना संक्रमण घट्दै गएपछि अस्पतालहरुमा बेड खाली हुँदै गएका छन् । करिब दुई हप्ता अघिसम्म जिल्लामा कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालमा बेड पाउन मुस्किल हुन्थ्यो । त्यसैमा अक्सिजन जुटाउन झन समस्या थियो तर पछिल्लो समय कोरोना संक्रमण दर घटेसँगै अस्पतालहरुमा बेड खाली हुँदै गएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया