एमाले एकता हुन नसक्नुको मूल जड भनेकै ओली, नेपाल र खनाल हुन् : योगेश भट्टराई

 जेठ २६, २०७८ बुधबार ९:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता हुन नसक्नुमा मूल जड भनेकै अध्यक्ष केपी शर्मा ओली, नेता माधव कुमार नेपाल र झलनाथ खनाल रहेको आरोप लगाउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले आफ्नै पार्टीका वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालसँग सहकार्य गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताउनुभएको छ। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अरु विषयमा गठबन्धन गर्न तयार हुने अध्यक्ष ओली आफ्नै पार्टीका नेतासँग मिल्न नसक्नु नै बिडम्बना रहेको उहाँकाे भनाइ छ ।

यस्तै उहाँले आफ्नै पार्टी अध्यक्ष ओलीसँग मिल्न तयार नहुने तर विपक्षी गठबन्धन बनाएर अघि बढेको भन्दै माधव नेपाल र झलनाथ खनालप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवसँग सत्ता साझेदारी र अरु विषयमा गठबन्धन गर्न तयार हुने खनाल–नेपाल समूहले अध्यक्ष ओलीसँग मिल्न तयार नहुनु पनि समस्याको जड रहेको उहाँले बताउनुभयो ।

पछिल्ला यस्ता गतिविधिहरु कस्ले, किन र केका लागि गर्दैछ भन्ने प्रश्न गर्दै उहाँले यी समस्या यथावत रहेसम्म एमाले एकताको सम्भावना कम रहेको बताउनुभयो । यसबारे पार्टीका शीर्ष नेताहरुबीच गम्भीर छलफल गरेर साझा निष्कर्ष निकाल्न साझा अभियानमार्फत एमालेलाई बचाउनुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया