घरलाई नै विद्यालय बनाऔँ

 जेठ २७, २०७८ बिहिबार १३:९:४७ | हरि ज्ञवाली
unn.prixa.net

कोरोनाको दोस्रो लहरका कारण लाखौँ विद्यार्थीहरू पुनः घरमै सीमित छन् । वार्षिक परीक्षासमेत दिन नपाएका ती लाखौँ बालबालिकाहरूमा परीक्षा दिनुपर्ने हो कि माथिल्लो कक्षाको तयारीमा लाग्ने हो भन्ने अन्योल अझै पूर्णतः हटिसकेको छैन । डेढ महिनाभन्दा बढी घरभित्रै कैद हुँदा फेरि उनीहरूमा मानसिक तनाव बढ्दो छ ।

मानसिक तनावमा बालबालिका 

असारदेखि नयाँ शैक्षिकसत्र शुरू हुने भनिएको छ । तर एसईई र १२ कक्षाको जाँचबारे अझै अन्योल कायमै छ । लामो समयको निषेधाज्ञाले खेल्ने, चल्ने र विद्यालय जाने उमेरका कलिला बाल–बालिकाहरूलाई सबभन्दा बढी मानसिक तनावमा पारिदिएको छ । लामो समय घरभित्रै बस्नुको मानसिक पीडा र तनाव खपिसक्नु छैन । घरभित्रै छेकेर राख्दा चलिरहनुपर्ने चञ्चल बालस्वभाव कुण्ठित र निरश बनेको छ ।

खाऊँखाऊँ, लाऊँलाऊँ उमेरका बालबालिकासँग यतिबेला न पुस्तक छ, न त स्कुल नै । न साथी छन् ,न खेल सामग्रीहरू नै । न मनमा रमाइलो छ, न त शरीरमा स्फूर्ति । न अध्ययनमा लगाव छ न भविष्यप्रतिको कुनै आकांक्षा र योजना । छ त केवल कोरोनाको त्रास । आज यतिजना मरे, यतिजना संक्रमित भए त्रासद समाचार र निषेधाज्ञाको कोकोहाेलाे मात्रै । छरछिमेक, वरपर र आफन्तजनका दुःखद मृत्युका खबरले उनीहरूको बालमस्तिष्कलाई नकारात्मक असर परेको छ । 

बाहिर ननिस्क, हात धोइरहू, मास्क लगाऊ र सेनिटाइजर दल भन्ने एकोहोरो र पट्यारलाग्दो उर्दीबाहेक उत्प्रेरणामूलक खबर र हौसलापूर्ण कुरा उनीहरूले सुन्न पाएका छैनन् । साथीसँग भेटघाट गर्न, खेल्न, कुद्न र हाँसखेल गर्न नपाउँदाको त्यो अव्यक्त बालवेदना हामी वयस्कहरूले केवल अनुमान मात्र गर्न सक्छाैँ । अनुभव, अनुभूति र महसुस गर्न सक्दैनौंँ ।

आज उनीहरूमा पहिलेजस्तो  न चञ्चलता देखिन्छ न त जिज्ञासुभाव नै  । न शरीरमा कुनै स्फूर्ति छ  न बालसुलभ नै । अरूसँग बोल्दा र नजिक हुन पनि सशंकित भएजस्तो । अध्ययनप्रति रूचि र उत्साह नै नभएजस्तो । निरीह र टिठलाग्दा जस्ता भएका छन् उनीहरू । 

मानसपटलमा अव्यक्तभाव, एकाङ्गीपन र हीनताग्रन्थी डम्म भरिएजस्तो ।  उनीहरू एकाङ्गी, अटेरी र जिद्दी बन्दैछन्  । लामो समय घरभित्रै सीमित रहेका कतिपय विद्यार्थीले बोलाउँदा झर्कने, टोलाउने, रिसाउनेजस्ता आक्रामक व्यवहारसमेत देखाउन थालेका छन् । बालबालिकाको शारीरिक र मानसिक विकासमा नकारात्मक असर परेको देखिन्छ । मुलुकका भविष्यका कर्णधारमा आएको यो मनोदशा र दुर्दशाको मनोवैज्ञानिक उपचार अव कसरी होला ? गम्भीर चिन्ताको विषय छ ।

इन्टरनेट र मोबाइलका नकारात्मक असर 

पहिले विद्यार्थीलाई इन्टरनेट र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइन्थ्यो । समयक्रमले हामी सबैलाई अनलाइन कक्षाका नाममा उनीहरूका लागि इन्टरनेट जोडिदिनुपर्ने, मोबाइल र ल्यापटप किनिदिनुपर्ने विवशतामा पुर्या‍यो । अब किशोरकिशोरी तथा बालबालिकालाई सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँमा रमाउने बानी परिसकेको छ । मोबाइल फोनको बढ्दो प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउन थालिसकेको छ । कतिपयले आफ्नो उमेरअनुसार चाहिने–नचाहिने सामग्री पनि हेर्न भ्याइसकेका छन् । पब्जी लगायतका अनेकौँ गेम र टिकटक जस्ता कुरामा धेरैको नियमितता बनिसकेको छ ।

बालबालिकाहरू घरभित्रै भए पनि आफ्ना अभिभावकसँग टाढिँदै जान थालेका छन् । उनीहरू एउटा कुनामा बसेर एकान्तमा गेम खेल्न वा अन्य कुरामा रमाउन अभ्यस्त भैसकेका छन् । मोबाइल फोनको प्रयोगसँगै उनीहरूमा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन् । अब उनीहरूलाई सो रङ्गीन रसातलबाट बाहिर निकाल्न पक्कै पनि केही समय अवश्य लाग्नेछ । अभिभावक र विद्यालयलाई यो ठूलै चुनौती भएको छ  ।

अनलाइन कक्षाका नाममा लगातार मोबाइलको प्रयोगले तनाव, चिन्ता तथा बेचैनी र  उदासीनता बढ्दै गएको छ ।  निद्राको समस्या, थकान महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने समस्या आएका छन् ।  टाउको दुख्ने, आँखा खराब हुने  र घाँटी दुख्नेजस्ता रोग बढ्न थालेका छन् ।  उनीहरूमा मौलिकता, सिर्जनत्मकता, शारीरिक सक्रियता हराउदै अल्छीपना र मोटोपना बढ्न थालेको छ । अनलाइन शिक्षाबाट बालबालिकालाई केही हदसम्म राहत भए पनि समग्रमा तात्कालीन र दीर्घकालीन अनेक नकारात्मक असर देखिन थालेका छन् । यी असरहरूको समाधान कसरी गर्ने  ? सोच्नैपर्ने भएको छ ।   

यी कुरा कसैले सिकाएन :

आजसम्म हामीले औपचारिक शिक्षालाई मात्र प्रमुख ठान्यौँ र सर्टिफिकेटका आधारलाई मात्र प्राथमिकता दिइराख्यौँ । फलस्वरूप सबै स्कुलहरूले विद्यार्थीलाई पुस्तक रटानमै बढीे केन्द्रित गरे । सबैले आफ्नो भाषा, धर्म, संस्कृति, संस्कार आदिको बारेमा सिकाउनुपर्ने थियो तर उनीहरूलाई गणित वा विज्ञानका सूत्रहरु वा अंग्रेजीका शब्दहरू रटाइयो  । बालबालिकाहरूलाई हाम्रो संस्कार–संस्कृति, पारिवारिक मानसम्मान, मर्यादा, अभिवादनको तरिका र त्यसको मूल्य–मान्यताका बारेमा जानकारी नै गराइएन । यस्ता कुरा न त विद्यालयले सिकायो न त अभिभावकले नै त्यो बालमष्तिष्कमा राखिदिन भ्याए ।

आफ्नो विद्यालयको तहगत नतिजा अरू विद्यालयको भन्दा कसरी उत्कृष्ट हुन्छ भन्ने अस्वस्थ प्रतिस्पर्धामै सीमित भए विद्यालयहरू । सामाजिक दायित्व र व्यावहारिक कुरा सिकाउनेतिर खासै पहल भएन । प्राकृतिक प्रकोप र अचानक आइपर्ने विपत्तिबाट व्यावहारिक रूपमा कसरी बच्ने भन्ने शिक्षा कहिल्यै दिइएन । आइपर्ने तमाम संकटका सामना कसरी गर्ने अभ्यास पनि गराइएन । सामाजिक सद्भाव र आपसी मेलमिलाप नै असल मानवीय गुण हुन् भन्ने बोध उनीहरूलाई भएन । मानवीय मूल्य–मान्यता के हुन् ? नैतिकता, आचरण, देशभक्ति र सामाजिक मेलमिलाप र दायित्व के हो ? त्यसबारे न त कहिल्यै पढाइ भयो न त कुनै परीक्षा र मूल्याङ्कन नै ।

आडम्बरी तडकभडकपूर्ण आधुनिकता र खोक्रो किताबीय रटानमै विद्यार्थीहरू सीमित गरिए । संस्कारसहितको व्यावहारिक शिक्षालाई जोड दिइएन । ज्ञान, बुद्धि र विवेकको परीक्षा भएन बरू अरूले भन्दा बढी प्रतिशत वा जीपीए ल्याऊ, अरूलाई जित, आफू अगाडि बढ, अरूलाई पछाडि पार भन्ने नितान्त व्यक्तिगत प्रतिस्पर्धाका कुराहरू उनीहरूको कलिलो मस्तिष्कमा भरिरह्यौं । फलस्वरूप आजका विद्यार्थीहरूमा न त परिस्थितिसँग सामना गर्ने क्षमता विकसित भएको छ न व्यवहारिकता र सामाजिक दायित्वबोध नै । न उनीहरू पूर्णतः राष्ट्रप्रेमी बन्न सकेका छन्  न त श्रमप्रतिको सम्मान र लगाव नै । उनीहरूमा पूर्ण सीपको विकास हुन सक्यो न त परिस्थितिको सामना गर्ने क्षमता र बानी नै । फलस्वरूप मुलुकको भविष्यका कर्णधार यतिखेर अन्योलग्रस्त, दिशाहीन, किंकर्तव्यविमूढको अवस्थामा रहेका छन् ।

वैज्ञानिक उपकरणीय देखावटीभन्दा हाम्रो प्राकृतिक खानपान र जीवनशैली नै सर्वोत्तम हो भन्ने ज्ञान न विद्यालयले दिए न त अभिभावकले नै । त्यसैले त आज कलिला मस्तिष्कका बालबालिकामा रोगसँग लड्ने क्षमता कमजोर भएको छ । अचानक आइपरेका समस्यासँग जुधेर सामना गर्ने हिम्मत हुनुपर्नेमा उल्टै हतास र विचलित देखिन्छन् ।

हामीले पैसालाई सुख र श्रमलाई दुःख भनेर बुझायौं । कृषि कर्मको महत्वबारे ज्ञान दिएनौं । फलस्वरूप भौतिक सुविधा र पैसाका लागि नेपालका अधिकांश युवाहरूको लक्ष्य विदेश हुन पुग्यो । युवापलायन देशले भोग्नुपरेको एउटा जटिल समस्या हो ।

अब घरमै सिकाऔँ यी कुराहरू :

कोरोनाका कारण आज सबै बालबालिकाहरू घरमै छन् । प्रायःजसो सबै अभिभावकहरू पनि घरमै हुनुहुन्छ । अब विद्यालयमा भौतिक उपस्थितिमा पढाइ कहिले हुन्छ भन्न सकिन्न । बालबालिका लक्षित अर्को भेरियन्ट आउँदैछ भन्ने हल्ला चलाइएको छ । कोरोनाविरूद्धको खोप सबैलाई नलगाएसम्म त्रास रहिरहने छ । अनलाइन कक्षाको कुरा त्यस्तै हो । 

बालबालिकाको पहिलो पाठशाला घर नै हो । उनीहरू नै पहिलो  गुरू हुन् । तसर्थ औपचारिक–अनौपचारिक, सांस्कारिक, सामाजिक र व्यावहारिक शिक्षाको सम्पूर्ण जिम्मेवारी अभिभावककै काँधमा आइपुगेका छन् ।

हामीले बालबालिकालाई ‘सह नाववतु । सह नौ भुनक्तु । सह वीर्यं करवावहै ’ .... भन्ने मूलमन्त्र सिकायौँ तर कोरोनाले आज मानिस मानिसदेखि नै डराऊ, नजिक नजाऊ भनिरहेको छ । हामीले सामाजिक सद्भाव र सहभाव सिकायौँ तर कोरोनाले एकलभाव  भनिरहेको छ । मानिस–मानिसबीच दुरी बढाइदिएको छ । यतिखेर यी दुईबीच सामञ्जस्य मिलाउन जरूरी भएको छ ।  

कोरोना कहर, लकडाउन वा कुनै महामारी क्षणिक हुन् तर निरन्तर अध्ययन र व्यावहारिक ज्ञान जीवनभरिलाई हो भन्ने कुरा बालबालिकालाई सिकाउन जरूरी छ । शारीरिक र मानसिक रूपमा स्वस्थ रहेमा जुनसुकै बाहिरी रोगसँग पनि लड्न सकिन्छ भन्ने ज्ञान दिन पनि अत्यावश्यक छ । यो भूमिका अब अभिभावकले नै पूरा गर्नुपर्ने देखिन्छ ।

हामी सृष्टिका फगत सञ्चालक मात्रै हौं । अनेकौं रोग हामी आफैंले निम्त्याएका कारक तत्व हुन् । हाम्रा आफ्नै जीवनशैली र व्यवहारले हाम्रो शरीरलाई कमजोर बनाउँदै लगेको छ भन्नेजस्ता यथार्थ र अपरिहार्य कुरा अब घरमै पढाइ हुनुपर्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता अनि प्रकृतिविरूद्ध आचरणका दण्डस्वरूप अनेकौं रोगव्याधि र महामारीका प्रकोपहरू आउन सक्छन् भन्ने चेतना बालबालिकाहरूलाई बुझाउनु जरूरी छ ।  

औपचारिक शिक्षा महत्वपूर्ण भए पनि जीवन भोगाइ र आचरणसम्बन्धी ज्ञानको महत्व बढी छ । विद्यालयमा कमजोर भनिएका विद्यार्थीहरूले पनि महान् काम गरेका उदाहरणहरू थुप्रै छन् ।  यो समय आफूलाई चिन्ने र आफ्नो रूचिको विषयलाई तिखार्ने उपयुक्त बेला हो ।   बालबालिकाहरूको सिकाइ अनुकरणात्मक हुने भएकाले परिवर्तन आफैबाट सुरू गर्दै घरमै सिकाउनु जरूरी भएको छ ।

योगा, प्राणायाम र चिन्तन–मननले जीवन रूपान्तरित गर्न सक्छ । स्वध्यायन नै बौद्धिक र व्यक्तित्व विकासको मूल आधार हो । घरभित्रै खेल्न मिल्ने खेल, बुद्धिचाल, चित्रकला लगायतले रचनात्मक  र बौद्धिक विकासमा सहयोग गर्छन् । गाउँखाने कथा, प्रश्नोत्तर, समस्या समाधानजस्ता अभ्यासले बालबालिकामा चिन्तन गर्ने, सोच्ने र समस्या समाधान गर्ने क्षमताको विकास गर्छ । निरन्तर उत्प्रेरणा, व्यवहारमा सकारात्मक परिमार्जन अभिभावकका कर्तव्य हुन् ।  मोबाइलको ठाउँमा खेल खेलाउने, कहानी भन्ने, बच्चासँग आफू पनि सँगै खेल्ने, चित्र कोर्ने आदि सिकाइका अनेक पाटा हुन सक्छन् ।  

अन्त्यमा, श्रमलाई दुःख र पैसालाई मात्र सुख बुझाउने शिक्षा होइन, माटोको मर्यादासहितको श्रमको सम्मान दिने व्यावहारिक र सीपमूलक शिक्षा घरमै सिकाउनुपर्ने बेला हो यो । तसर्थ घरलाई नै विद्यालय बनाऔंँ । आफ्ना बालबालिकालाई उत्साही, सिर्जनशील व्यावहारिक र सीपयुक्त बनाऔँ ।  
 

अन्तिम अपडेट: असार ७, २०७८

हरि ज्ञवाली

ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया