किसानले 'यस्ता बाख्रा त लिँदैनाैँ' भनेपछि नगरपालिकाले फिर्ता गरिदियाे

 जेठ २८, २०७८ शुक्रबार ८:५४:१९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – बाख्रापालनका लागि किसानलाई वितरण गर्ने भनी ल्याइएका बाख्रा किसानहरूले नै लिन अस्वीकार गरेका छन् । वितरणका लागि ल्याइएका बाख्रा मापदण्ड विपरीतका भएपछि जिल्लाको मुसिकोट नगरपालिकाले फिर्ता गरिदिएको छ ।

आर्थिक वर्ष २०७७∕०७८ मा नगरपालिकाका किसानलाई वितरण गर्न ल्याइएकामध्ये २६ वटा बाख्रा फिर्ता गरिएको नगरपालिकाले जनाएको छ । बाख्रा खरिदका लागि गरिएको टेन्डरअनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पालनयोग्य तथा उत्पादनयोग्य नभएका र किसानले समेत लिन अस्वीकार गरेकाले फिर्ता पठाइएको मुसिकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सुशील गौतमले बताउनुभयो ।

उहाँका अनुसार ठेकेदारले ल्याएका पहिलो चरणका ५६ वटा बाख्रामध्ये २६ वटा बाख्रा फिर्ता पठाइएको हो । नगरपालिकाले यहाँका विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारिताका बारेमा अनुगमन गरिरहेको छ । कार्यक्रमको लक्ष्य तथा उद्देश्य विपरीत हुने हरेक खालका कार्यलाई अनुगमन गरेर निरुत्साहन गरिने सामाजिक विकास समितिका संयोजक गौतमले जनाउनुभयो । 

सङ्घीय सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा किसानलाई व्यावसायिक बनाएर आर्थिक उत्पादनमा जोड्ने उद्देश्यले बाख्रापालन कार्यक्रम राखिएको थियो । यस वर्ष एक सय ५० वटा बाख्रा वितरणको कार्यक्रम रहेको छ । बाँकी बाख्रा अब तत्कालै ल्याएर वितरण गरिने नगरपालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताउनुभयो । पहिलो चरणमा ल्याइएकामध्ये २६ वटा बाख्रा कोही साना, कोही बूढो भएका र मापदण्डभित्रका नभएकाले फेरि किसानसँग सहकार्य गरेर ल्याउने गरी ठेकेदारलाई नै फिर्ता गरिएको उहाँकाे भनाइ छ ।

बाख्रा खरिद  र वितरणका लागि केअरफाम नेपाल प्राली नेपालगञ्जले सम्झौता गरेको थियो । यसका लागि सङ्घीय सरकार र मुसिकोट नगरपालिकाले संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरिद, घाँस, औषधिसमेतकाे व्यवस्थाका लागि बजेट विनियोजन गरिएको थियो ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया