‘अवरुद्ध सडक खुलाउन एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा’

 जेठ ३१, २०७८ सोमबार ६:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - वर्षाका कारण बाढी र पहिराले अवरुद्ध  सडक तत्काल खुलाउन सडक विभागले तयारी सुरु गरेको छ ।  त्यसका लागि  एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार यतिले पुगेन भने निजी क्षेत्रसँग भएका मेसिनहरु पनि प्रयोग गर्न सक्ने गरी सम्बन्धित सडक डिभिजन कार्यालय तथा योजना कार्यालयहरुलाई भनिसकिएको छ । राजमार्ग अवरुद्ध भएमा केही घण्टाभित्रै सञ्चालन गरिसक्ने गरी तयारी गरिएको हो । 

कोरोना विरुद्धको खोप, औषधि, अक्सिजनलगायतका स्वास्थ्य सामग्री आउने सडकलाई लामो समय अवरुद्ध हुन नदिने गरी तयारी गरिएको विभागको भनाइ छ । यस वर्ष गएको वर्षभन्दा धेरै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । त्यस कारण सडकमा बढी क्षति पुग्नसक्ने अनुमान गरिएको छ । 

सडक विभागले पहिरो र बाढीको जोखिम भएका सडकको पहिचान गरी त्यसका आधारमा तयारी अघि बढाएको हो । देशभरमा डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयमार्फत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको हो । गएको वर्ष मनसुनको समयमा सडक नै भासिएर लामो समय अवरुद्ध बनेको अरनिको राजमार्ग यस वर्ष लामो समय अवरुद्ध हुने अवस्था नआओस् भनेर तयारी भइरहेको उपमहानिर्देशक नेपालले बताउनुभयो । सामान्य पहिरो तुरुन्त सफा गर्न सकिने भए पनि सडक नै भासिँदा वा ठूलो पहिरो जाँदा तत्काल हटाउन गाह्रो हुन्छ। 

विभागले सामान्य पहिरो भएमा तुरुन्त खुलाउन सकिने भए पनि पूरै हटाउन नसक्ने अवस्थामा एकातर्फको पहिरो हटाएर पनि सडक सञ्चालन गर्दै आएको छ । सडकको एक छेउबाट गाडी आवतजावत गर्नसक्ने गरी खुलाइने गरिएको छ । सडक पूरै भासिएर एकातर्फसमेत खुलाउन नसकिने भएमा अर्को कुनै वैकल्पिक सडकको खोजी गरिन्छ । विभिन्न विकल्पमध्ये सडकको अवस्था हेरेर उपयुक्त विकल्प खोजिने उहाँले बताउनुभयो । 

‘सडक विभागको कार्यक्षेत्र पछिल्लो समय बढ्दै गएको छ । राजमार्गको लम्बाइ पनि बढ्दै गएको छ । जनशक्ति, मेसिन र औजारको क्षमता केही हदसम्म  बढ्दै गएको भए पनि बन्द भएको सडक छिटोभन्दा छिटो खुलाउनका लागि सम्बन्धित सबैसँग सहकार्य आवश्यक छ’ उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया