बाँकेका किसान चैते धान फलाउन सफल

 जेठ ३१, २०७८ सोमबार १४:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाँकेका किसान पहिलो पटक चैते धान फलाउन सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर वृद्धि भएको किसानहरूले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसान पनि आकर्षित भएका छन् । 

पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिँदै आएकाे छ । बर्दियाका किसान एक दशक अघिदेखि चैते धानतर्फ आकर्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् । यस वर्ष भने बाँकेका किसानले चैते धान फलाउन सफल भएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाले नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका थिए । नहरमा १२ महिना नै पानी आउन थालेपछि किसानहरूलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे । चैते धान फलाउन सफल बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजितकुमार सुनारले यो वर्षको परीक्षण सफल भएकाले अर्को वर्षदेखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताउनुभयो ।

यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञानबहादुर नेपालले पनि ११ कट्ठा जमिनमा चैते धान फलाउन सफल हुनुभएकाे छ । किसान नेपालले असार पहिलो हप्तासम्म चैते धान थन्क्याएर बर्खे धान लगाउने तयारी गरेको बताउनुभयो । परीक्षणको रूपमा उहाँले हल्दीनाथ– ३ र चैते धान– ५ नामक धानको खेती गर्नुभएको छ ।

लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाइ हुने भन्दै चैते धानको खेती गरेकाे किसान नेपालकाे भनाइ छ । एक वर्षमै सुरुमा बर्खे धान, त्यसपछि हिउँदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपालले बताउनुभयो । घर नजिकैको शाखा नहरमा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको उहाँकाे भनाइ छ । धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिँचाइ आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफूलाई थप प्रोत्साहन मिलेको किसान नेपालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेले किसान अजित सुनारलाई प्रोत्साहन गर्न याे वर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो । धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निःशुल्क परामर्श र मल, बिउसमेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले बताउनुभयो । अर्को वर्ष थप किसानलाई चैते धान रोपाइँकाे कार्यक्रम ल्याउने जानकारी दिनुभयाे । 

किसानहरूले गर्मी हुने ठाँउमा चैते धान फलाएर अन्यलाई उत्पादनमा जोडिन हौसला दिएका छन् । बाँकेमा चैते धान फल्ने खेतमा गहुँ, मकै र तरकारीको खेती गर्ने चलन छ । सिक्टा सिँचाइ आयोजनाको सिञ्चित हुने क्षेत्रमा धान उत्पादन गरेर किसानहरूलाई वैकल्पिक उत्पादनको बाटो देखाएको छ । आउँदा वर्षमा ज्ञान केन्द्रले चैते धान खेती गर्न चाहने किसानहरूलाई निःशुल्क मल र धानको बिउ उपलब्ध गराए थप हौसला पुग्ने छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया