सर्लाहीमा पाँच जना नेपालीसहित तीन भारतीयको ज्यान गयो, विषाक्त रक्सी खाएको आशङ्का

 असार १, २०७८ मंगलबार ९:४२:५२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीमा विषाक्त जाँडरक्सी खाँदा आठ जनाको ज्यान गएको आशङ्का गरिएको छ । पछिल्लो चार दिनको अवधिमा पाँच जना नेपाली र तीन जना भारतीय नागरिकको ज्यान गएको हो । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ पडरियामा जाँडरक्सी खाएर बिरामी परेका उनीहरुको ज्यान गएको ब्रह्मपुरी गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताउनुभयो ।

ज्यान गुमाउनेमा ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् । कैलु दास, जुगेश्वर माझी र बलिन्द्र दासको हिजो बिहान गाउँमा नै ज्यान गएको हो भने रामईश्वर पासवान र दिनकर दासको गएको २९ गते भारतको आग्रामा  ज्यान गएको थियो ।

रामईश्वर पासवान र दिनकर दास कामका लागि आग्रामा पुगेका थिए । त्यसैगरी गएको २८ गते जिल्ला अस्पताल सर्लाहीमा उपचारको क्रममा भारतीय तीन नागरिकको ज्यान गएको स्वास्थ्य संयोजक उपेन्द्र राउतले जानकारी दिनुभयो । ब्रह्मपुरी गाउँ नेपाल-भारत सीमा दशगजाबाट झण्डै तीन किलोमिटर उत्तरतर्फ पर्छ ।

भारतीय बजारमा घरेलु जाँडरक्सी बिक्रीमा रोक लगाएपछि भारतीय नागरिकहरु नेपालका सीमावर्ती गाउँमा आएर जाँडरक्सी खाने गर्दछन् । घटनाको अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया