राष्ट्रिय राजमार्गकाे १८ ठाउँमा सडक पूर्ण रूपमा बन्द

 असार ४, २०७८ शुक्रबार १७:५५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिले देशका विभिन्न राष्ट्रिय राजमार्गको १८ ठाउँमा सडक पूर्ण रूपमा बन्द भएका छन् । मनसुन सुरु भएसँगै बाढी तथा पहिरोका कारण सडक राजमार्गहरू बन्द भएका ४२ ठाउँमध्ये १८ ठाउँमा अझै सडक पूर्ण रूपमा बन्द रहेका सडक विभागले जनाएको छ ।

१८ ठाउँमा एकतर्फी सडक खुलाइएको छ भने ६ ठाउँको अवरोध पूर्ण रूपमा हटेको विभागले जनाएको छ । पाँच दिनअघि बन्द भएकाे साँफेबगर–मार्तडी–कोल्टी सडकको बाजुरा बल्दे–अम्कोट खण्ड अझै बन्द छ । बाजुराकै हड्डेखोला–रिला बलेना सडक पनि बन्द छ ।

पाँच दिन अघिदेखि नै बन्द भएको डुम्रे–बेसीसहर–चामे सडक अन्तर्गत मनाङको तिमाङ–छहरा सडक पनि अझै खुलेको छैन । सिन्धुपाल्चोकको पाँचखाल–मेलम्ची–टिम्बु सडक गएकाे बुधवारदेखि पूर्ण रूपमा बन्द छ ।

अरनीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोककै लिपिङ पुलमा बुधबारदेखि सडक बन्द छ । बझाङको कचालीमा खोड्पे–चैनपुर सडक, दैलेखको बान्द्रे, बझाङको तमैल, मनाङको तिमाल खोला, धारापानी र बगरछाप, डुम्रे–बेसीसहर–चामे सडक अन्तर्गत लमजुङको राम बजार, अर्खले, च्याम्चे, र घट्टे खोलामा सडक पूर्ण रूपमा बन्द रहेको छ ।

यस्तै भेरी करिडोर अन्तर्गत सुर्खेतमा, धुन्चे–स्याफ्रुबेसी सडक अन्तर्गत रसुवाको स्याफ्रुबेसीमा र मैलुङ–स्याफ्रुबेसी सडक अन्तर्गत रसुवाको त्रिशूली खोलामा सडक बन्द रहेको सडक विभागले जनाएको छ ।

पहिरो तथा बाढीले बन्द बनाएका अरू सडक भने कम्तीमा एकतर्फी खुलेका छन् । सडक विभागले अवरोध सिर्जना भएका र अवरोध हुने सम्भावित ठाउँमा पहिरो पन्छाउने मेसिनसहित जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ । सडक खुलेको भए पनि यस बेलाको यात्रा जोखिममा हुने भएकोले अत्यावश्यक काम नपरि यात्रा नगर्न र यात्रा गर्दा सचेत रहन सडक विभागले आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया