मकवानपुरका केही ज्येष्ठ नागरिकले खाेप लगाउन मानेनन्

 असार ४, २०७८ शुक्रबार २०:१३:५१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको बजार क्षेत्रमा कोरोना भाइरसविरुद्धको खोप लगाउन अहिले हानाथाप छ । लक्षित समूहभन्दा पनि पहुँचवालाहरू खोपका लागि स्वास्थ्यकर्मीलाई दबाब दिइरहेका छन् । तर मकवानपुरका दुर्गम गाउँका केही ज्येष्ठ नागरिक भने खोप लगाउनु पर्ला भनेर घरबाटै भागेका छन् । दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा पठाइएको खोप खपत नभएर स्वास्थ्य कार्यालयमा फिर्ता पठाइएको छ ।

सरकारले जेठ २५, २६ र २७ मा देशभर ६२–६४ वर्षका ज्येष्ठ नागरिकका लागि भेरोसेल खोप दिने अभियान चलाएको थियो । जसअन्तर्गत मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–७ धिराङमा रहेको स्वास्थ्य चौकीमा २० डोज खोप पठाइएकोमा ११ जनाले मात्र लगाएका छन् ।

‘अरू खोप लगाउनै आएनन्’, स्वास्थ्य चौकी प्रमुख अन्जना चेपाङले भन्नुभयो, ‘खोप लगाउनुपर्छ भनेर केही ज्येष्ठ नागरिक घरै छोडेर अन्यत्र भागे ।’ ६४ वर्षीय आइतलाल मोक्तानलाई आफैले भेटेर खोप लगाउन आउन भने पनि उहाँ त्यही दिन छोरीको घर चितवनतर्फ गएको अन्जनाले बताउनुभयो । ‘यो खोप लगाए मरिन्छ भन्ने भ्रम यहाँ छ’, स्वास्थ्य चौकी प्रमुख चेपाङले भन्नुभयो, ‘खोप लगाउनुपर्छ भनेर सम्झाउन खोज्दा पटक्कै सम्झिँदैनन् ।’

राक्सिराङ ६ सिलाधुनीमा रहेको स्वास्थ्य चौकीमा पनि २० जना ज्येष्ठ नागरिकका लागि खोप पठाइएकोमा आधा खोप फिर्ता भएको छ । ‘खोप लगाउन आउनुहोस् भन्दा यहाँ वृद्धवृद्धा डराएर भागे, बल्लबल्ल १० जनालाई फकाएर खोप लगाइयो’, स्वास्थ्य चौकी प्रमुख सूर्यबहादुर थिङले भन्नुभयो । धिराङ र सिलाधुनीका मात्र होइन, जिल्लाका अन्य दुर्गम भेगमा पनि अवस्था उस्तै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोपमाथिको भ्रम निवारण हुन नसक्दा यस्तो अवस्था आएको कार्यालयको भनाइ छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया