काठमाण्डाै उपत्यकामा अब कुन वार कुन पसल खाेल्न पाइन्छ ? (आदेशसहित)

 असार ६, २०७८ आइतबार १८:५१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्बिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा असार १४ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो । निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । 

अब घरबाट निस्कन पाइने भएको छ । तर स्वास्थ्यका मापदण्ड भने पालन गर्नुपर्नेछ । खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री, खेलकुद सामग्री, डिपार्टमेन्टल स्टोर, स्टेशनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल, आइतवार, मंगलवार र बिहीवार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने भएकाे छ । 

शपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ पसल सोमवार, बुधवार र शुक्रवार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खाेल्न पाइने भएकाे छ । 

निर्माणजन्य सामग्री पसल हार्डवेयर, स्यानिटरी, फर्निचर कार्पेटिङ दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी काठमाण्डौ उपत्यकाभित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । वर्कशप बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन क्षेत्र, सैलुन, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, दर्शकसहितका खेलकुद तथा भिडभाडका कार्यक्रम सञ्चालन गर्न पाइने छैन । फुटपाथको व्यापार पनि रोक लगाइएको छ ।

सार्वजनिक गाडी आउँदो १४ गते रातिसम्म सञ्चालनमा रोक लगाइएको छ । मोटरसाइकल तथा स्कुटीसहित निजी गाडी जोर–बिजोर चल्न पाउने भएका छन् । कार, जीप, भ्यानमा बढीमा चार जना, ट्याक्सीमा बढीमा तीन जना हुनुपर्नेछ ।

पठनपाठन अनलाइन तथा वैदेशिक अध्ययन र डीभी परेका व्यक्ति तथा कुटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्यक्रम सञ्चालन हुनेछन् ।

उद्योग तथा कलकारखाना र निर्माणका काम गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गरी गर्नुपर्नेछ । यसअघि जारी भएका पास खारेज भएका छन् ।

सरकारी कार्यालयमा आलो पालो गरी न्यूनतम जनशक्तिबाट सेवा दिने तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गने निर्णय भएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि राति सकिँदैछ । 

  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया