सङ्खुवासभामा सेफ्टी ट्याङ्कीमा निस्सासिएर बेहोस भएका दुई जनाको ज्यान गयो

 असार ७, २०७८ सोमबार ९:३:२९ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा  - सङ्खुवासभाको खाँदबारी नगरपलिका–४ सेकाहामा सेफ्टी ट्याङ्कीमा निस्सासिएर बेहोस भएका दुई जनाको ज्यान गएको छ । सेफ्टी ट्याङ्कीको ढलान खोल्ने क्रममा ट्याङ्की भित्र छिरेका खाँदबारी–४ सेकाहाका ईश्वर राई र तारावीर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक कविन राईले बताउनुभयो ।

नरेश गुरुङको घरमा बनाइएको सेफ्टी ट्याङ्की भित्रको ढलान खोल्न भनेर सुरुमा ईश्वर राई ट्याङ्की भित्र पस्नु भएको थियो । तर, उहाँ बेहोस भएपछि तारावीर ट्याङ्की भित्र पस्नु भएको थियो । हिजो बेलुका ५ बजे दुवै जना सेफ्टी ट्याङ्कीमा बेहोस भएपछि उद्धार गरेर उहाँहरुलाई जिल्ला अस्पताल सङ्खुवासभामा लगिएको थियो ।

उहाँहरुको उपचारका क्रममा हिजो नै ज्यान गएको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया